• १५ वैशाख २०८१, शनिबार

रजिस्टरमा छन्, कक्षामा छैनन्

blog

लीलाधर वली

घोराही, साउन २० गते । दाङको घोराही उपमहानगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन सुरु गरिएको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरूमा विद्यार्थी र शिक्षक सङ्ख्यासँगै भौतिक पूर्वाधारको अवस्थाबारेमा जानकारी लिन थालेको हो । 

सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन नसकेको गुनासो भइरहेका बेला शिक्षा महाशाखाले विद्यालयहरूको अवस्था, विद्यार्थी सङ्ख्या र खाजा कार्यक्रमको प्रभावकारिता बुझ्न अनुगमन थालिएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले बताउनुभएको छ। उहाँले अनुगमनका क्रममा विद्यालयमा विद्यार्थीको सङ्ख्या, शौचालयको अवस्था, कक्षा कोठाको अवस्था, खानेपानीको अवस्था, शिक्षक दरबन्दी, अध्यापन गराउँदा शैक्षिक सामग्री प्रयोग गरेको/नगरिएको, छात्रवृत्ति वितरण भए/नभएको, विद्यार्थीलाई दिवा खाजा सरकारले तोकेको मापदण्डअनुसार खुवाएको/नखुवाएको, छात्राहरूलाई सेनिटरी प्याडको व्यवस्था भए/नभएका लगायतका अवस्था बुझ्ने काम भइरहेको बताउनुभयो। 

शाखा अधिकृत पौडेलले अनुगमनका क्रममा केही विद्यालयले विद्यार्थी सङ्ख्या हाजिरीमा बढी देखाउने, शिक्षकहरू विद्यालयमा हाजिर भएर विद्यालय छोड्नेलगायतका समस्याहरू देखिएको बताउनुभएको छ। ‘अनुगमनका क्रममा केही विद्यालयमा रजिस्टरको सङ्ख्याभन्दा कक्षा कोठामा कम विद्यार्थी भेटिएका छन् भने शिक्षकहरू हाजिर लगाएर बाहिर हिँड्ने गरेको देखिएको छ’, शाखा अधिकृत पौडेलले भन्नुभयो, ‘अनुगमनका क्रममा बिनाजानकारी विद्यालय छोड्ने शिक्षकसँगै विद्यार्थी सङ्ख्या धेरै देखाएर खाजा रकम दुरुपयोग गर्ने विद्यालयलाई समेत कारबाही गर्छौं।’ 

अनुगमनका क्रममा घोराही उपमहानगरपालिका–४ मा रहेको रात्रि आधारभूत विद्यालय, सोही वडामा रहेको आधारभूत विद्यालय सुनपुरलगायतका विद्यालयमा रजिस्टरमा भन्दा कक्षा कोठामा विद्यार्थीको सङ्ख्या कम भेटिएका थिए। लामो समयसम्म कक्षामा अनुपस्थित नरहेका विद्यार्थीको नामसमेत रजिस्टरमा रहेको पाइएको थियो। 

लामो समयसम्म विद्यालय नआउने विद्यार्थीको नाम रजिस्टरबाट हटाउन अनुगमन समितिले निर्देशन दिएको शाखा अधिकृत पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थी कक्षामा उपस्थित नहुने तर सङ्ख्या देखाइरहँदा खाजा रकम दुरुपयोग हुने देखिएकाले कि विद्यार्थीलाई उपस्थित गराउन नत्र विद्यार्थीको नाम हटाउन निर्देशन दिएका छौँ’ तर विद्यालयका शिक्षकले भने विद्यार्थी बिरामी भएका कारण कम उपस्थित भएको बताएका थिए। केही विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा बढी पाठ्यपुस्तक समेत लगेर विद्यालयमा थुपारिएको भेटिएको थियो ।