• ५ वैशाख २०८१, बुधबार

चीनले थप्यो शून्य भन्सार सुविधा

blog

काठमाडौँ, साउन २० गते । चीन निर्यात हुने ९८ प्रतिशत करयोग्य वस्तुमा नेपालले शून्य भन्सार सुविधा पाउने भएको छ । 

चीनको भन्सार महसुल आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालसहित अन्य १६ देशलाई यस किसिमको सुविधा उपलब्ध गराउने जनाएको हो । सूचीमा समावेश देशले आगामी भदौ १६ गते (सेप्टेम्बर १)देखि यस्तो सुविधा पाउने आयोगले उल्लेख गरेको छ । 

आफूसँग कूटनीतिक सम्बन्ध भएका र समझदारीपत्रमा हस्ताक्षर गरेका अति कम विकसित देशलाई शून्य भन्सार सुविधा उपलब्ध गराउने गत डिसेम्बरको घोषणा कार्यान्वयनमा ल्याउन चीनले नयाँ व्यवस्था गरेको हो । यससँगै सुविधा प्राप्त देशमै उत्पत्ति भएका ९८ प्रतिशत वस्तुको चीन निर्यातबापत भन्सार शुल्क लाग्नेछैन । 

नेपाललाई यस किसिमको सुविधा उपलब्ध गराउने सम्बन्धमा चैत १३ गते दुई देशबीच सम्झौता भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेय र चीनको वाणिज्य मन्त्रालयका सहायक मन्त्री सेङ चिउपिङले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । नेपालसहित यस किसिमको सुविधा पाउने सूचीमा टोगो, जिबौटी, कम्बोडिया, रुवान्डालगायतका देश समावेश छन् । 

लाभ लिन कठिन

चीनले पछिल्लो पटक गरेको घोषणामा पहिलेभन्दा अतिरिक्त सुविधा दिएको वा सहजीकरण गरेको अवस्थामा मात्र नेपालले यसबाट लाभ लिन सक्ने पूर्ववाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेले बताउनुभयो । “पहिलेको सुविधा र अहिले थपिएको सुविधा भिन्न हो भने लाभ लिन सक्ने ठाउँ हुन्छ,” उहाँले भन्नुभयो । त्यसका लागि राखिएका सर्तबारे प्रस्ट नभई यसबाट नेपाललाई हुने फाइदाका विषयमा टिप्पणी गर्न नसकिने उहाँको भनाइ छ ।  

चीनले यसअघि नै आठ हजार वस्तुमा उपलब्ध गराएको भन्सार शून्य सुविधाको लाभ लिन नसकिएकाले पछिल्लो पटक थपिएको सुविधाबाट हुन सक्ने लाभमा पनि नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको निर्यात प्रवद्र्धन समितिका सभापति मनीषलाल प्रधान आशङ्का व्यक्त गर्नुहुन्छ । “पहिले नेपालबाट खासै निर्यात नै नहुने वस्तुमा त्यस्तो सुविधा उपलब्ध रहेकाले नेपालले फाइदा लिन सकेन । धेरै कुरा प्रस्ट नभई अबको सुविधाले पनि कति लाभ दिन सक्छ भन्न सकिँदैन,” उहाँले भन्नुभयो । 

चीनमा एक पटक निर्यात भएपछि त्यही वस्तु नै ‘कपी’ गरेर उत्पादन गरिदिने प्रवृत्तिले पनि चीनमा नेपाली उत्पादनको बजार बढ्न नसकेको उहाँले बताउनुभयो । 

चीनले यसअघि नै नेपालमा उत्पादन हुने करिब आठ हजार वस्तुलाई भन्सार शून्य सुविधा उपलब्ध गराएको छ । विभिन्न सर्त पूरा गरे मात्र त्यस्ता वस्तु निर्यात गर्न सक्ने चीनले जनाएको थियो तर सूचीमा राखिएका धेरै वस्तु नेपालबाट धेरै निर्यात नहुने र प्रतिस्पर्धी लाभ हासिल हुन नसक्ने किसिमका रहेको व्यापारीको गुनासो छ । त्यस्तै सूचीमा समावेश वस्तुहरूको भन्सार कोड नै अमिल्दो रहेकाले पनि निर्यातमा समस्या रहेको उनीहरू बताउँछन् । 

निर्यातमै झमेला

चीनले नेपालजस्ता मुलुकका निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराए पनि निर्यातमा भने झमेला बेहोर्नुपर्ने अवस्था छ । 

कोरोना सङ्क्रमणका कारण लामो समय नेपालबाट चीन हुने निर्यात ठप्प थियो । पछिल्लो समय निर्यात भइरहे पनि भन्सार प्रक्रियाका क्रममा कागजात बुझाउनुपर्ने अवस्थामा झमेला हुने गरेको नेपाल पे्रmट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले बताउनुभयो । “युरोप, अमेरिकाजस्ता देशमा निर्यात गरेजस्तो सजिलो चीन र रुसमा छैन,” उहाँले भन्नुभयो । 

खासगरी भन्सार प्रक्रियामा धेरै कागजात बुझाउनुपर्ने र कतिपय अवस्थामा नमिलेको भन्दै थप झमेला बेहोर्नुपर्ने नेपाली व्यवसायीको गुनासो छ । अर्कोतिर नेपालबाट निर्यात हुने वस्तु चीन लैजाँदा नेपालबाटै त्यहीँका एजेन्ट वा व्यवसायी प्रयोग गर्नुपर्ने अर्को बाध्यता व्यवसायीले व्यहोर्नुपरेको छ ।  

साढे दुई खर्बको आयात, ८१ करोडको निर्यात

चीन र नेपालबीचको व्यापारमा धेरै ठूलो खाडल छ । चीनबाट अत्यधिक आयात हुने र धेरै न्यून मात्र निर्यात हुँदा नेपालले ठूलो व्यापार घाटा बेहोर्नुपरेको अवस्था छ ।  भन्सार विभागका अनुसार आव २०७८÷७९ मा नेपालले चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड रुपियाँको वस्तु आयात गरेको थियो तर नेपालबाट ८० करोड ८७ लाख रुपियाँको मात्रै वस्तु निर्यात भएको छ । यस हिसाबले चीनसँगको व्यापारमा करिब दुई खर्ब ६४ अर्ब रुपियाँभन्दा बढीको घाटा बेहोर्नुपरेको अवस्था छ । 

नेपालबाट चीनमा खासगरी हरियो चिया, औषधिका लागि प्रयोग हुने जडीबुटी, रुद्राक्षको बीउ, अगरबत्तीलगायतका वस्तु निर्यात हुने गरेको छ । चीनबाट नेपालले मुख्यगरी स्याउ, लसुन, प्याज, ओखर, नास्पाति, मोबाइल, इलेक्ट्रोनिक सामान, कपडालगायतका वस्तु आयात गर्छ ।