• १३ वैशाख २०८१, बिहिबार

नेपाल टी–२० लिग : भारतीय टिम मालिक खुशी

blog

नेपाल टी–२० फ्रेन्चाइज लिगका दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सका मालिकले विहिबार लोगो सार्वजनिक पछि । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन १९ गते । नेपाली क्रिकेटसँग जोडिन पाएकोका भारतीय लगानी कर्ताहरुले खुशी ब्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज लिगका दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सका मालिकले विहिबार लोगो सार्वजनिक गर्दै खुशी ब्यक्त गर्नुभएको हो ।

दुवै टिमका मालिक भारतीय हुनुहुन्छ । विराटनगर सुपर किंग्सका तर्फबाट फेस अफ विराटनगरको रुपमा रहनुभएकी मन्दिरा लालभानीले नेपाल टी–२० लिगको एउटा अंक बन्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । नेपाल क्रिकेटका लागि उर्वर भूमि हो । नेपालको क्रिकेट पछिल्लो समय चर्चामा छ । यहाँको क्रिकेटसँग जोडिन पाउँदा खुशी छु । क्रिकेट मेरो डिएनए मै छ । त्यसैले नेपाली क्रिकेटको एउटा ‘पार्ट’ बनेको हुँ,’ लालभानीले भन्नुभयो । 

यसैगरी जनकपुर गोल्डस्पोर्टस प्रालि, भारतको स्वामित्वमा रहेको जनकपुरका मालिक गोविन्द खान्डवालले पनि नेपाल टी–२० लिगसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । ‘यस लिग प्रति हामी उत्साहित छौं । यसले नेपाली क्रिकेट र भारतीय क्रिकेटलाई समेत जोड्ने छ,’ खान्डवालले भन्नुभयो । 

यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ । नेपाल टी–२० क्रिकेट लिगमा ६ टोलीको सहभागिता रहनेछ । क्यानले कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ ।

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० लिग भएको दावी गर्दै आएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।