• ७ वैशाख २०८१, शुक्रबार

टोलमै ज्येष्ठनागरिक भत्ता पाउँदा ज्येष्ठनागरिक खुशी

blog

गाउँटोलमा सामाजिक सुरक्षा भत्ता वितरण गरिदैं । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, साउन १९ गते । इस्मा गाउँपालिकाले गाउँ टोलमै पुगेर ज्येष्ठ नागरिक भत्ता वितरण गरेपछि ज्येष्ठनागरिक खुशी व्यक्त गर्नुभएको छ । “पहिले भत्ता लिन बैंकमा जानुपर्थ्यो । अहिले टोलमै आएर भत्ता पाएपछि खुसी लागेको छ ।” इस्मा गाउँपालिका– ५ का ८२ वर्षीय मनिराम भण्डारीले भन्नुभयो ।  

सामाजिक सुरक्षा भत्ता आफ्नै टोलबाट पाउँदा भण्डारी मात्र होइन् नमकला बोहोरा पनि हर्षित हुनुभएको छ । पहिलो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएका नमकलाले टोलमै भत्ता पाउँदा आफूसहित अन्य ज्येष्ठनागरिक पनि उत्साहित भएको बताउनुभयो । 

ज्येष्ठ नागरिकका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोलमै पुगी उपलब्ध गराउने इस्मा गाउँपालिकाले नीति लिएको छ । सोहीअनुसार गाउँपालिकाले यतिबेला ६ वटै वडाको टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

सोही स्थानका छमकली घर्तीले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएको बताउनुभयो । “हामी पहिले बैंक जाँदा निकै दुःख हुन्थ्यो । कहिले गाडीमा तेल राखिदिनुपर्ने । कहिले दिनभर लाइनमा बस्नुपर्ने । अहिले आफ्नै टोलबाट भत्ता पायौं । निकै खुसी छौं ।”

तुलसी गिरि पनि आफ्नै टोलबाट भत्ता प्राप्त गर्दा औधि खुसी हुनुभएको छ । उहाँले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता दिएको भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो । आगामी दिनमा पनि टोलमै आएर भत्ता उपलब्ध गराइदिन आग्रह गर्नुभयो । 

गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको विभिन्न १८ स्थानबाट १२ सय ३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावनाअनुसार टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो । “हामीले निर्वाचनमा सङ्कल्प गरेका थियौं । सोहीअनुसार गाउँ टोलमै आएर ज्येष्ठनागरिक भत्ता वितरण गरेका छौं” अध्यक्ष खड्काले भन्नुभयो ।