• ४ साउन २०८१, शुक्रबार

डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा, उदयपुरका दुईहजार घर प्रभावित

blog

नवराज कट्टेल

विराटनगर, साउन १८ गते । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।  बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसका कारण क्रमशः सप्तरी र सुनसरीमा जाेखिम पर्ने देखिएकाले तीन जिल्लामा सतर्कता अपनाइएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ डुबानमा परिसकेको छ । नदीको धार पुरानो ठाउँमा फर्कने सम्भावना  छ, प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो –‘मानवीय क्षति रोक्न निषेधित क्षेत्र घोषणा गरेर उद्धारको काम भइरहेको छ ।’