• १२ साउन २०८१, शनिबार

‘बेबी मिल्क बैंक’ स्थापना : स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा बेवास्ता गरिरहेको बताउनुभएको छ । 

मंगलबार  प्रसूति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकाले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।


उहाँले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको सङ्ख्या सबैभन्दा कम देखिएको बताउनुभयो । उहाँले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताउनुभयो । 

मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरीत भएको बताउनुभयो ।

उहाँले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । 

मन्त्री खापुङले कोरोनाको संक्रमण बढिरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सप्ताह व्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रुपमा सफल बनाउन आवश्यक रहेको बताउनुभयो । 

सातै प्रदेशमा ‘बेबी मिल्क बैंक’ स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गर्न र यो काम आमाको दूध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।