• ४ साउन २०८१, शुक्रबार

नाग पूजनको सांस्कृतिक महत्त्व

blog

विविधतायुक्त नेपाली समाज र संस्कृतिले जीवजन्तु, पशुपन्छीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महत्त्व दिएको छ। यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्त्व रहिआएको छ। जसका कारण विश्वास, आस्था र भक्ति प्रकट गरिन्छ। विभिन्न चाडपर्वमा विविध पशुपन्छीको पूजा गर्ने क्रममा नागपञ्चमी यस्तो दिन हो, जसमा नाग (सर्प)को पूजा गरिन्छ। 

घरघरका ढोकामा नागका तस्बिर विधिपूर्वक पूजा गरेर टाँस्ने चलन छ। जसले गर्दा वर्षभरि घरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास रहिआएको छ। नागको सम्बन्ध पानी तथा जमिनसँग जोडेर पनि हेर्न सकिन्छ। नाग रिसाए भने पानीको अभाव पर्छ, जसले गर्दा पानीबिना जीव बाँच्न नसक्ने ठानेर हिन्दु धर्ममा नागलाई सर्पका राजा मानिन्छ। यस्तै नाग रिसाई घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुःख दिने हुँदा घरको जग हाल्दा पनि नाग पूजा गर्ने चलन छ। समयमा नै वर्षा होस् र यस्तो समयमा बाढीबाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने प्रचलन रहिआएको छ। 

हिन्दुले नागलाई वैदिक देवता शिव र विष्णुका रूपमा परम्परादेखि पुज्ने गर्छन्। भगवान् शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेषनागको शøयामा फणाको छाता ओढेर सुतेको अवस्थामा हुन्छन्। विश्वको ऐतिहासिक सभ्यता सिन्घुघाँटी सभ्यतालाई हेर्ने हो भने त्यहाँ उत्खननबाट प्राप्त मुद्रामा एउटा पुजारीले नागको पूजा गरिरहेको चित्र पाइएको छ। यस्तै एउटा जन्तरमाथि चित्रमा नागलाई वेदमाथि देखाइएको छ, यसबाट पनि नागराजाको प्राचीनताबारे जान्न सकिन्छ। 

नागपञ्चमीको ज्यादै लामो प्राचीनता तथा ऐतिहासिकता रहेको छ। पौराणिक कालबाट नै काठमाडौँ उपत्यकापहिले एउटा ठूलो पोखरीका रूपमा थियो; जसमा नाग बस्नलाई लोकप्रसिद्धि छ। उपत्यका जलमग्न भएको अवस्थामा उक्त दहको पानीलाई खड्गले काटेर मञ्जुश्रीले बाहिर पठाई बस्तीयोग्य बनाएको उल्लेख पाइन्छ। भगवान् कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार मानिन्छन्। कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग पाइन्छ। नागपञ्चमीका प्राचीनतासँग विभिन्न कथा जोडिएका छन्। 

पौराणिक श्रुतिअनुसार एक पटक एक जना किसानले खेत खनिरहेको बेलामा नागका तीनवटा बच्चा भेट्टायो र सबैलाई मारिदियो; जब ती बच्चाकी आमा आहारको खोजीबाट फर्कंदा आफ्ना सबै बच्चा मार्ने किसान र उसको परिवारप्रति आक्रोश पोख्दै किसानलाई लखेटेर मारिदिई। यद्यपि अझै पनि उसको रिस शान्त भएन, घरका अन्य सदस्यलाई पनि डसेर मारिदिई। उक्त किसानकी छोरी भने घरबाहिर रहेको अवस्थामा फणा उठाएर डस्न खोज्दा केटीले नागिनीसँग प्रार्थना गर्दै माफी मागिन्, बाँच्न पाउन याचना गर्दै दूध पिलाउने अनुनय गरिन् र कचौरामा दूध ल्याएर नागिनीका अगाडि राखिदिइन्। संयोगवश जुन दिन श्रावण शुक्लपञ्चमी परेको थियो। थकित अवस्थामा रहेकी नागिनी दूध पिई शान्त भएर ती कन्यालाई जीवनदान दिइन् र केही वरदान माग्ने भए दिन्छु भनी माग्दा किसानकी छोरीले हतपत आफ्ना मरेका मातापिता र भाइलाई जीवनदान दिने वरदान मागिन्, यसपछि नागिनी वरदान दिएर अलप भइन्। यस कथाका आधारमा किसानका परिवारलाई मृत्युको मुखबाट बचाएको सम्झनास्वरूप नागपूजा गर्न थालिएको मान्यता पाइन्छ। 

यस्तैगरी नागपूजा तथा यसको विभिन्न पक्षसँग सम्बन्ध देखाउने अनेक पौराणिक श्रुतिहरू पनि छन्। जसमा नाग र यसको पूजाको महìव दर्शाइएको पाइन्छ। विभिन्न पुराणमा नागपूजा गर्नाले सुख, समृद्धि पाउनुका साथै उनीहरूलाई दूधपान गराउनाले सर्पदंशको असामयिक मृत्युबाट बाँच्न सकिने उल्लेख गरिएको छ। वराह पुराणलाई उद्धृत गर्दै उल्लेख गरिएको एक स्रोतका अनुसार ब्रह्माका दस मानसपुत्रमध्येका जेठा छोराको नाम मरीचिका कश्यप थियो, उनले दक्षकी छोरी कदू र विनतासँग विवाह गरे। त्यसपछि कदूको गर्भबाट अनन्त, वासुकी, पद्म, महापद्म, कम्बल, कर्कोटक आदि नागजातिका छोरा जन्मे। भूमिमा विशेष देवताका रूपमा नागलाई मान्दै भूमिमा गाढेर राखिएको धनमाथि बसेर सो को रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सकेमा मात्र उक्त धन प्राप्त गर्ने लोकविश्वास रहिआएको कुरा विभिन्न स्रोतमा उल्लेख छ। यस्तैगरी पानी बर्साउन, मेघ र अग्निबाट रक्षा दिएर शान्ति ल्याउनमा नागको विशेष भूमिका रहने कुरा चर्चा छ। 

पञ्चतन्त्रको एक कथाअनुसार एउटा ब्राह्मणबाट प्रसन्न नागले प्रत्येक दिन ब्राह्मणलाई एउटा स्वर्ण मुद्रा दिन थाले, ब्राह्मण अन्य काममा व्यस्त भई उसले छोरालाई सो मुद्रा लिन पठाए, सर्प बस्ने दुलामा असङ्ख्य स्वर्ण मुद्रा भएको लोभमा छोराले सर्पलाई मारी ती सबै मुद्रा एकै पटक पाउन सर्पमाथि प्रहार गर्दा सर्पको डसाइबाट ब्राह्मण पुत्रको मृत्यु भयो। पछि लोभी छोराको बाबु ब्राह्मणलाई पनि सो नागले स्वर्ण मुद्रा दिन अस्वीकार गरे, यसबाट पनि नाग क्षेत्र देवता भएको प्रस्ट हुन्छ। विभिन्न बाह्रवटा नाग अनन्त, वासुकी, पद्म, शेष, कुलिर, कर्कोटक, अश्वतर, तक्षक, पिङ्गल, शङ्ख, गोमन र महापद्म छन्। लोकमान्यतामा नागहरूको सम्बन्ध जल र जलाशयमा रहेको पाइन्छ। हरेक ताल, पोखरी तथा जलाशयमा अलग अलग नागदेवता हुन्छन्। 

नागकै सम्बन्धमा विभिन्न कथा पाइन्छन्। एक कथा नाग र गरुडको सङ्घर्षस‘ग सम्बन्धित छ भने अर्को जनमेजयको नागयज्ञसँग जोडिएको छ। जसमा सनातन धर्म र संस्कृतिमा सबैको अस्तित्व सम्मानजनक भएकाले सर्पलाई मारेर बदला लिनु विपरीत कार्य हो भनिएको छ। सृष्टिका पालनकर्ता विष्णुलाई शान्ताकारं भू जगशयनम् भन्दै सर्पहरूको बिछ्यौना बनाई सुतेका शान्तिका मूर्ति बनाइएको पाइन्छ भने श्रीकृष्णलाई जन्मनेबित्तिकै वासुदेवले यमुना तराउँदा ठूलो पानी परिरहेको हुँदा नागहरूले छाता बनी पानीबाट रक्षा गरेपछि श्रीकृष्णले नागप्रति भक्ति प्रकट गरेको कुरा उल्लेख छ। यस्तै भगवान् शङ्करले सदा सर्वदा सर्पको माला नै लगाई सर्पप्रति सम्मान गरेको प्रस्ट हुन्छ। 

त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको जस्ता अनेकौँ प्रसङ्ग पनि पाइन्छन्। विश्वमा सबैभन्दा मूल्यवान रहेको मणि शिरमा धारण गर्ने अक्षय खजना पनि नागसँगै हुन्छ। वेद, पुराण, उपनिषद्हरूमा नाग गरिमाको चर्चा पाइनुका साथै शेषनागले त पृथ्वीलाई नै धारण गरेको प्रसङ्ग पनि छ। यसरी सर्वत्र चर्चा भएका नागको पौराणिक, धार्मिक, 

सांस्कृतिक महत्त्व रहेको छ। ज्योतिषशास्त्रीय मान्यताअनुसार पनि विभिन्न रोग, दोष निवारणका लागि नागपञ्चमीको दिन काल सर्पदोष निवारणसम्बन्धी पूजाआजा गर्ने चलन छ।

यस दिन खेतमा खनजोत गर्दा सर्प मर्छन् भन्ने मान्यताले गर्दा जमिन खन्नेजोत्ने कार्य गर्नु हुँदैन भन्ने जनविश्वास रहिआएको छ। यस दिन विभिन्न रङहरूमा नागका चित्रहरू बनाई घरका ढोकामाथि वा प्रवेशद्वारमा गोबरका साथ टाँस्ने गरिन्छ। जसको आआफ्नै मूल्य, मान्यता र विश्वास रहिआएको छ। त्यस्तै चामलको पिठोका नागहरू बनाएर खानेपानीका मुहानलगायतका ठाउँहरूमा नागपूजा गर्ने प्रचलन गाउँघरतिर देख्न सकिन्छ। काठमाडौँ उपत्यकामा नागपोखरी, भक्तपुरमा सिद्धपोखरीजस्ता ठूलाठूला जलाशयमा नागपञ्चमीका दिन घुइँचो लाग्दछ, जहाँ नागको भव्य पूजा गर्ने चलन छ। तसर्थ पौराणिक, ऐतिहासिक, धार्मिक प्रसङ्गका साथसाथै कृषि र वर्षासँग पनि नागको समन्वय भएकाले यस्ता पर्वमा प्रकृतिमा रहेका जीवको पनि पूजाआजा गरी पृथ्वीमा सबैको सहअस्तित्व स्वीकार्नु नेपाली संस्कृतिको विशेषता र मौलिकता हो। जसले प्रकृति र संस्कृतिबीच समन्वय स्थापित गरेको छ।