• १३ साउन २०८१, आइतबार

१७ अस्पतालबाट कोभिड सङ्क्रमितको उपचार निःशुल्क

blog

काठमाडौं, साउन १६ गते । नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रम जारी रहेको छ । सङ्क्रमितदरलाई मध्यनजर गर्दै सरकारले कोरोना सङ्क्रमितको लागि निःशुल्क उपचार गर्न सात प्रदेशबाट १७ अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार सरकारले  मध्यम र गम्भीर अवस्थामा भएका सङ्क्रमितको उपचार गर्दा शुल्क तिर्नु नपर्ने गरी १७ अस्पताल तोकेको हो ।

कोभिड–१९ सङ्क्रमितको उपचार गरेवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिनुभयो । 

डा. अधिकारीका अनुसार सरकारले तोकेका अस्पतालमध्य प्रदेश १ मा कोशी अस्पताल र बीपी कोइराला विज्ञान प्रतिष्ठान गरी दुई अस्पताल रहेका छन् ।

त्यसैगरी, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी गरी दुई अस्पतालमा कोभिडको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।

बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी पाँच अस्पताल तोकेको छ ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी गरी दुई अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ ।

सरकारले लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र कर्णली प्रदेशमा कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल तोकेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ ।


पछिल्लो २४ घण्टामा देशभरका ल्याबबाट पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको छ । सोमबार परीक्षण गरिएकामध्य १५ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये चार हजार ७९२ जना होम आइसोलेसनमा, १४२ जनाको संस्थागत आइसोलेसनमा उपचारर छन् । संस्थागत आइसोलेसन भएका मध्य ३६ जनाको आइसीयू र पाँचजना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

नेपालमा कोरोना सुरु भएदेखि हालसम्म ११ लाख ३० हजार १२४ जनामा कोरोना पुष्टि भएको छ ।  सङ्क्रमितमध्ये नौ लाख ७० हजार ३२६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको छ । त्यस्तै,सङ्क्रमितमध्य ११ हजार ९८६ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा सङ्क्रमितको मृत्युदर १.२ प्रतिशत रहेको छ ।

नेपालमा खोप अभियान सुरु भएदेखि आजसम्म चार करोड ९४ लाख २५ हजार ११३ मात्रा खोप लगाइसकेको छ । जसमध्ये दुई करोड १५ लाख ५६ हजार ९१ जनाले पहिलो मात्रा र दुई करोड पाँच लाख ९२ हजार एक सयजनाले पूर्णमात्रा खोप लगाएका छन् । त्यसैगरी ७२ लाख ७६ हजार ९२२ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।