• ४ साउन २०८१, शुक्रबार

युवामा बढ्दो अपराध मनोवृत्ति

blog

मानिसले जानेर अपराध गर्दैन भन्ने आममान्यता हो। सामान्यतः अपराध कानुनको उल्लङ्घन हो। नैतिकताविरुद्धको काम हो। अरूलाई प्रताडित गर्ने मनोविज्ञानसमेत हो। नियतवश गरिने गलत काम हो, जसलाई कानुनले दण्डित गर्न सक्छ। पछिल्लो समय नजानेरभन्दा पनि जानाजान योजनाबद्ध रूपमा अपराध हुन थालेका छन्। अनाहकमा निर्दोष नागरिकको ज्यान लिने, उसलाई फसाउने वा लुट्ने प्रवृत्ति बढेको छ। मानिस काममा व्यस्त रहन पाएन भने अपराधमा लाग्न सक्छ भन्ने मान्यता हो तर मानिस आफूले गरिरहेको कामबाट कसरी अरूलाई फसाएर फाइदा लिन सकिन्छ भन्ने मनोवृत्तिबाट समेत परिचालित हुने रहेछ। 

पछिल्ला केही दृष्टान्त हेरौँ : जापान जाने लोभमा फसेकी कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया युवती सपना मल्ल अहिले प्रहरी हिरासतमा छिन्। जापान जान ‘स्टुडेन्ट भिसा’ लगाएकी उनी सोमबार टोकियो उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साथीभाइ र परिवारले बिदाबारी भएर अन्तिम जाँच कक्षमा पुग्दै गर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले हत्कडी लगाइदियो। उनलाई अघि सारेर बीमा कम्पनीमा काम गरिसकेका सञ्जीव अर्यालको अपराध मनोवृत्तिले सपनासँग बिहे गरेको भनिएका युवक सर्जन विकको ज्यान मात्र गएन, सपनाको सपनामा कालो बादल मडारियो।

अस्ट्रेलिया जाने तयारीमा रहेका कीर्तिपुरको टुँसाल चम्पादेवीका २१ वर्षीय अर्का युवा सलिन अधिकारी ललितपुरको फुल्चोकी जङ्गलमा झुण्डिएको अवस्थामा फेला परे। उनको ब्यागबाट प्रहरीले अर्को एउटा डोरी, पासपोर्ट, नागरिकतालगायत कागजात फेला पा-यो। उनलाई सम्भवतः कुनै नक्कली कम्पनीले ठूलै चिठ्ठा परेको बहानामा लाखौँ लुटिसकेको रहेछ। धेरैसँग ऋण गरेर पैसा तिरेका सलिनले त्यसबेला हरेश खाए, जब उनीसँग ती ऋण तिर्ने कुनै उपाय बाँकी रहेन। अस्टे«लिया जाने उनको सपनासँगै बाबुआमाले देखेको आफ्नो भविष्यमा समेत अन्धकार छायो। 

यो साता बजारमा खबर बनेका यी दुई प्रतिनिधि घटनाले नेपाली नयाँ पुस्ता कसरी ‘इजी मनी’ को चङ्गुलमा फस्दैछ भन्ने देखाउँछ। एक त नेपाली युवक युवतीमा नेपालभित्रै बस्ने, यहीँ पढ्ने र आफ्नै मुलुकमा काम गर्ने भन्ने सोच विल्कुल छैन। यी दुई घटनामा फसेका युवायुवती देशभित्र बस्ने मानसिकतामा यसै पनि थिएनन्। उनीहरूका लागि विदेश सपनाको एक मात्र लक्ष्य थियो। सम्भवतः यो बाटो तय गर्न उनीहरूले कसरी सजिलै पैसा कमाउने र देशबाट बाहिरिने भन्ने मात्रै सोचे। मैले गर्दै गरेको कर्म अपराध पनि हो भन्ने उनीहरूको किशोर मनले सोच्नै सकेन। परिणाम ? एउटाले प्रहरीको हिरासत र सम्भवतः जेल जीवन बिताउनु पर्ने भयो र अर्काले सदाका लागि जीवन लीलाको अन्त्य ग-यो। 

यी दुई घटनाका दुई पात्र अपराध कर्मका कति दोषी हुन् भन्दा पनि यसले समाजमा बढ्दो अपराध संस्कृतिलाई प्रतिविम्बित गरेको छ। पहिलो घटनामा ‘फसेकी’ युवतीलाई केवल अस्टे«लिया जाने धुन मात्र छ। आफ्नै योग्यता क्षमतामा भन्दा पनि सजिलो बाटोबाट अस्ट्रेलिया पुग्ने लोभमा उनी फसेकी छिन्। हाम्रो समाजमा एउटी ठकुरी युवतीको विश्वकर्मा युवकसँगको विवाह कानुनतः वर्जित नरहे पनि परम्परागत रूपमा स्वाभाविक होइन। यस्तै प्रेम विवाहको प्रयासमा जाजरकोट रुकुममा दुई वर्षअघि भएको जघन्य अपराध आमनेपालीको मनमस्तिष्कमा अझै ताजा छ। सम्भवतः अपराधको योजनाकारले उनलाई यो कानुनी विवाह मात्र हो, यसले भोलिका दिनमा कुनै समस्या पार्दैन भनेर विश्वास दिलाएको हुनुपर्छ।

यी युवतीलाई फसेको मान्दै गर्दा अरू दुई जघन्य अपराधी क्षमायोग्य छैनन्। यो घटनाले अस्ट्रेलिया जाँदै गरेको एउटा युवकको सपना मात्र विलिन भएको छैन, अपराधका नयाँ घटना र स्वरूपलाई पनि उजागर गरेको छ। बीमा कम्पनीमा जागिर खाँदै गरेको वा गाडी चलाउने पेसामा लागेको युवकको आम्दानी मनग्गे नहोला तर बाँच्नका लागि अपराध नै गर्नुपर्ने अवस्था पक्कै होइन। उनीहरूको अपराध कर्मले दुवै क्षेत्रका कामकाजीको शिर निहुराएको छ। भुक्तभोगीले बीमा कम्पनीबाट सहजै सेवा पाउन नसकेको गुनासो नेपालका सन्दर्भमा नयाँ होइन। ती कम्पनीले कस्तो अवस्थामा बीमाको क्षतिपूर्ति दिन्छन् र गलत व्यक्तिले कसरी अनुचित लाभ लिइरहेको छ भन्ने स्थितिलाई समेत अपराधकर्मका योजनाकारले खुलासा गरिदिएका छन्। 

अर्कातिर सडक दुर्घटनाका नाममा एउटा चालकले कतिसम्मको अपराध गर्न सक्छ भन्ने पनि उजागर भएको छ। नियोजित रूपमा एउटा होनाहार युवकको हत्या गर्ने व्यक्ति सडक दुर्घटनाका नाममा कसरी सहजै उन्मुक्ति पाउँछ भन्ने पनि यसले देखाएको छ। सडक दुर्घटनाका विषयमा प्रहरी अनुसन्धान कति कमजोर हुनसक्छ र न्यायालयले कति सहजै सफाइ दिन्छ भन्ने पनि यो घटना एउटा दुर्दान्त उदाहरण हो। मुद्दा दर्ता भएको १० महिनामा अदालतले चालकलाई ३० दिन कैद र दुई हजार रुपियाँ जरिवाना गराउने आदेश दियो। मृतकका दाजुले सात लाख रुपियाँ क्षतिपूर्ति पाए तर अपराध प्रवृत्त टोलीले अढाइ करोड हात लगायो। 

अपराधका योजनाकार मानिएका सञ्जीव अर्याल अमेरिकी बीमा कम्पनीसँग सहकार्य गरिरहेको मेट एलिकोका पूर्वकर्मचारी हुन्। उनले के कारणले जागिर छाडे भन्ने प्रष्ट नभए पनि उनलाई बीमाका नाममा गर्न सकिने अपराधका बारेमा राम्रै थाहा रहेछ। अपराध योजनाअन्तर्गत उनले छ महिनाको अवधिमा युवा युवतीबीच विवाह गराएका छन्, विवाह दर्ता गर्न गएकै दिन अढाई करोड रुपियाँको बीमा गराएका छन्। विवाहको एक महिनाभित्रै सडक दुर्घटना गराएका छन् र ती युवकको पत्नीका हैसियतले युवतीबाट बीमा दाबी गराएका छन् र २०७७ फागुन २८ मा सुरु भएको आपराधिक खेल २०७८ साउन १४ मा आई पुग्दा पटाक्षेप भएको छ। बीमा कम्पनीले युवतीलाई अढाई करोड रुपियाँ बीमावापत भुक्तानी गरेको छ। चालकले यो दुर्घटना गराउँदै गर्दा युवालाई चढ्न दिइएको मोटर साइकल तिनै व्यक्तिको हो, जसले ती युवकको नाममा आफ्नो कम्पनीबाट बीमा गराइदिएका छन् र ती व्यक्ति यो अपराधकर्ममा जोडिएको अनुमान बिना नै अदालतले उनलाई सफाइसमेत दिएको छ। 

बीमा कम्पनीले शङ्का नगरेको भए यो अपराध सार्वजनिक हुने थिएन। सडक दुर्घटना भएकोमा प्रहरी विश्वस्त थियो। अदालतसमेतले सडक दुर्घटनाको विश्वास गरेर चालकलाई दण्ड जरिवाना सुनाइसकेको थियो। सबैले आआफ्नो भागअनुसारको रकम बुझेर आनन्दको जीवन सुरु गरिसकेका थिए। वार्षिक दुई लाख आम्दानी हुने व्यक्तिले पाँच लाखभन्दा बढी बीमाका लागि रकम बुझाउनु र बीमा गरिएको एक महिनाभित्रै दुर्घटना हुनु बीमा कम्पनीका लागि रहस्यको विषय बन्न सक्यो तर यति ठूलो अपराधका बारेमा सामान्य शङ्कासमेत प्रहरीले गर्न नसक्नु र अदालतले पनि प्रहरी जाहेरीकै आधारमा फैसला गर्नुले अपराधी कसरी सहजै उम्कन सक्ने रहेछन् भन्ने दृष्टान्त पनि यो घटना बन्न पुगेको छ। 

अर्को घटनामा मृतकको अपराध आत्महत्या गर्नु मात्रै हो। ऊ आत्महत्याको स्थितिमा पुग्नु चाहिँ अरू कसैको अपराधको कारण हो। पहिलो घटना मानिसलाई लोभ र मोहमा पारेर गरिने अपराधको चरम नमुना हो भने दोस्रो घटना सम्बद्ध पक्षले विषयवस्तुको पहिचान गर्न नसक्दाको परिणाम हो। यसै साता चर्चामा आएका ‘हनि ट्र्याप’ का घटना पनि मानिसलाई लोभ र मोहमा पारेर गरिने अपराध हुन्। अपराध मनोवृत्तिका मानिसलाई चिन्न सक्ने क्षमता सबैमा हुँदैन। त्यसको फाइदा उठाएर अपराधकर्मीले समाजमा विकृत कर्म गर्दै आएका छन्। 

यी घटनाले नेपाली समाजको सदाचार र इमानदारीमा प्रश्न उठाएको छ। निश्चय पनि यस्ता अपराधकर्ममा लाग्नेहरूको सङ्ख्या नगन्य हुन्छ तर त्यसको मारमा पर्नेहरूको सङ्ख्या सोचेभन्दा ठूलो हुन्छ। आज सलिन अधिकारीको ज्यान जाँदै गर्दा ऊ एउटा मात्र पीडित देखिएको छ तर यस्ता अपराधकर्मबाट पीडित हुनेहरू हजारौँ हुन सक्छन्। सानीआमाले ७५० डलर दिएको भए सलिनको जीवन केही लम्बिन सक्थ्यो तर उसका विरुद्धका अपराधी अझ प्रोत्साहित हुने थिए। आज यो घटना सार्वजनिक हुँदै गर्दा यो अपराध कर्ममा जुटेका धेरैको मनमा ढ्याङ्ग्रो बजेको हुनुपर्छ। अपराध प्रवृत्त मानिसले सधैँ एउटै मार्ग अपनाएर अपराध गर्छ भन्ने छैन तर अपराधका प्रवृत्तिका बारेमा सुरक्षा निकाय जानकार हुन्छ र हुनुपर्छ।

पहिलो घटनामा प्रहरीले प्राप्त गरेको सफलताले नेपालको प्रहरी कमजोर छैन भन्ने प्रमाणित गरेको छ। यो कारबाहीले बढ्दो अपराध मनोवृृत्तिलाई निरुत्साहित गर्ने सन्देश पनि दिएको छ र सलिन अधिकारीहरूले ढिलै भए पनि न्याय पाउने छन् भन्ने आशा जगाएको छ।