• २० जेठ २०८१, आइतबार

अन्तर्राष्ट्रिय कानुन सम्मेलन

नेपालले असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको छ : राष्ट्रपति भण्डारी

blog

तस्विर : सुजन गुरुङ/गोरखापत्र

काठमाडौं, साउन १४ गते । राष्ट्रपति विद्या भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको उल्लेख गर्नुभएको छ । संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वबन्धुत्वको भावना एवम् अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना हुनेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले ‘अन्तर्राष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका एशीयाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवम् भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भएर नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा ठोस योगदान गर्दैआएको स्मरण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व र विश्वबन्धुत्वको भावना र अहस्तक्षेपको र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको छ । विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रियसम्बन्धका आयाम एवम् भौगोगिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा समेत ठोस योगदान गर्दैआएको इतिहासतर्फ म यस विद्वत सम्मेलनको ध्यान आकृष्ट गर्न चाहन्छु ।’’

भूपरिवेष्ठित मुलुकहरुका लागि निर्वाध पारवहन अधिकार प्रत्याभूति गर्ने समुन्द्रसम्बन्धि कानुनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका स्मरणीय रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यस काममा नेपाललाई सहयोग गर्ने सबै मित्र राष्ट्रहरुप्रति आभार पनि व्यक्त गर्नुभयो । उहाँले न्यायमा आधारित विश्व व्यवस्था हुनुपर्छ भन्ने मान्यतालाई सो अन्तर्राष्ट्रिय सम्मेलनले विवेचना गरेर ठोस धारणा तय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘‘अन्तर्राष्ट्रिय कानुनको मान्यतामा उभिएर नियममा आधारित विश्व व्यवस्था कायम गर्न राष्ट्रहरुले भूमिका खेल्नुपर्ने आवाज समकालिन विश्वमा अहिले प्रशस्त सुनिरहेका छौं । नियम र कानुनको सोझो एवम् स्पष्ट मान्यता न्याय स्थापना गर्नु रहेको छ । तसर्थ, आजको विश्व व्यवस्था नियममा अवश्य आधारित हुनुपर्दछ’’ उहाँले भन्नुभयो, ‘‘तर, त्यत्तिले मात्रै पुग्दैन । त्यसभन्दा अझ माथि उठेर न्यायमा आधारित विश्व व्यवस्था हुनुपर्छ भन्ने विषयतर्फ यस सम्मेलनले पर्याप्त विवेचना गरोस् भन्ने मेरो आग्रह छ । यसो भएको खण्डमा अन्तर्राष्ट्रिय कानुनको विकासका लागि यस सम्मेलनको दिने एउटा ठूलो योगदान यही हुन सक्नेछ ।’’

सम्बाेधनकाे पूर्णपाठ

सम्मेलनमा बोल्नुहुँदै सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले अन्तर्राष्ट्रिय कानुनले राष्ट्रहरुबीचमा हुने व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध र अन्य पारस्परिकसम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो सम्मेलनले विश्व व्यवस्थालाई नै न्यायसम्मत ढङ्गले अघि बढाउन सघाउ पुर्‍याउने धारणा समेत राख्नुभयो ।न्यायाधीश प्रधानले राष्ट्रहरुबीचमा मानव अधिकारको प्रत्याभूति दिलाउन पनि अन्तर्राष्ट्रिय कानुनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।