• ८ मंसिर २०८१, शनिबार

निबन्ध

खोइ नेपाली ‘रेनेसा’ ?

blog

हामी आफ्नै छेउको झरनाको पानी नपिएर ‘प...र’ इनारको कुहिएको पानी पिउनमा रमाइरहेका छौँ ।

एक पटक दार्शनिक लियोनार्दो दा भिन्चीले भनेका थिए, ‘झरनाको नजिक बस्ने मान्छेले इनारको पानी पिउँदैन ।’ यो भनाइ विद्यार्थी हुँदा पढेको थिएँ तर बुझेको थिइनँ । आज बुझ्दै छु । 

कला र झरनाको पानी 

लियोनार्दो दा भिन्चीको बुझाइमा प्राचीन ग्रिसेलीहरू मानव आदर्शका नमुना मात्रै थिएनन्, ती कलाका लागि महान् स्रोत र आदर्श थिए । तिनका मौलिक रचनाहरू र विचारहरूले पश्चिमी सभ्यतालाई पूरै रङ्गाइदियो । मान्छेहरू तिनका विचारको उदात्तमा लीन हुन पुगे । किनभने तिनमा स्वच्छता थियो, सत्यता थियो । गहिराइ थियो मानव धड्कनको । स्पन्दन थियो । अध्यात्मिकता थियो । इन्द्रियको अराजकतालाई तिनले मानेनन् । किनभने हाम्रा पाँच इन्द्रियले देखेका कुरा सत्य छैनन्, तिनले भने । 

मैले जे देखिरहेको छु त्यो सत्य होइन ।

मैले जे सुनिरहेको छु त्यो सत्य होइन । 

मैले जे बास्ना पाइरहेको छु त्यो सत्य होइन ।

अर्थात इन्द्रियको सूचना अपूरो छ । 

भिखारीलाई त हामी दिनहँु भेट्छौँ । तर लक्ष्मीप्रसाद देवकोटाले जस्तो भिखारीलाई देखेर उसको जीवन्त कविता किन लेख्न नसकेको त ?

हामी आँखाले अर्थात् इन्द्रियले देख्छौँ, देवकोटाले चेतनाले लेखे ।

फरक यत्ति हो ।

तिनै चेतनाका कुरा ग्रिसेलीहरूले प्रक्षेपण गरे । त्यसैले उनीहरूलाई प्रथम पुनर्जागरणका संवाहक भनियो । 

अनि मानिसहरूले तिनका ती महान् विचारमाथि प्रश्न उठाउन सकेनन् । 

उही परिप्रेक्षमा अमेरिकी पुनर्जागरण (रेनेसा) विद्वान्हरूले प्राचीन ग्रिसेलीहरूको जस्तो व्यक्तिको नैतिक र अध्यात्मिक सशक्तीकरणमा जोड दिए, उसको स्वत्वमा जोड दिए । व्यक्तिको चरित्रलाई मलजल गर्ने शक्तिशाली अस्त्र भनेको ग्रिसेलीहरूको आदर्श सिद्धान्त शारीरिक तन्दुरुस्ती र अध्यात्मिक समग्रता नै हो । मान्छे शरीरको निरोगी त हुनैपर्छ महान् विचार प्रस्फुटन र ग्रहण गर्नका लागि पनि । अनि मात्र उसको चेतना पनि बलियो भएर निस्किन्छ । यस्तो बेलामा ती व्यक्तिहरूले समाजबाट फाइदा पाउन सक्छन्, समाजले तिनलाई प्रेम गर्छ, सम्मान गर्छ । किनभने ती सर्जक हुन् कला सिर्जना गर्ने । 

कलाले प्राचीन मौलिकताको प्रयोग गर्दै स्थूल अर्थात् भौतिक कुराहरूबाट भावनात्मक कुराहरू, दार्शनिक विचाहरूसँग संवाद गर्छ । व्यक्तिका हरेक आयामसँग रङ्ग भर्छ र तिनलाई जीवन्त बनाइदिन्छ । 

यसैको परिणाम हो आज यो पृथ्वी तलभरिमा तिनै प्राचीन ग्रिसेलीहरूका विचारहरू छरपष्ट छन् । यसो भनिरहँदा वैदिक संस्कृतका विद्वान्हरूका आदर्शलाई पश्चिमाहरूले उजागर गर्न चाहेनन् । तिनले काव्यमा संस्कृत साहित्यका कुरा त समेटे तर तिनको प्रचार भएन । अनि वैदिक संस्कृत विचार कुनामा थुप्रिन पुग्यो र ग्रिसेलीहरूका कुरा अगाडि आए । आजको सन्दर्भ पनि यही हो । 

अनि ग्रिसेलीहरूका विचारले आज संसारलाई मानवीय सम्भावनाको सुन्दरता र गौरवतालाई स्मरण गराइरहेको छ । यिनैलाई सत्य मानेर हिँडेका छन् । यिनैलाई आदर्श मानेर कुदिरेका छन् । 

खस्किएको अमेरिकी आदर्श 

आज संसार रोटी र पानी (ब्रेड एन्ड वाटर) को पछाडि कुदिरहेको छ । यो कुदाइ सिकाउने अमेरिकीहरू नै हुन्, जसले प्राचीन ग्रिसेलीहरूको वैयक्तिक स्वतन्त्रलाई गलत व्याख्या गरे । अनि गलत प्रयोग गरे । अमेरिकीहरूले वैयक्तिक स्वतन्त्रता भनेको व्यक्ति ‘छाडा’ हुन पाउने ‘लाइसेन्स’ अर्थात् इजाजतपत्र ठाने । तिनका नैतिक सिद्धान्तहरू व्यवहारवादी भए । तिनका सहनशीलता यौन व्यभिचारमा रूपान्तरण भए । तिनको कला भावनात्मक र राजनीतिक हिंसामा परिणत भयो जसले गर्दा मानव सभ्यताको क्षयीकरण हुन पुग्यो । सबैले ‘अमेरिकन ड्रिम’ भन्न थाले । संसारले तिनको नक्कल गर्न थाल्यो । त्यो त राजनीतिक सिद्धान्त बन्न पुग्यो । अनि मान्छेले आफूबाहेक अरूको पर्वाह गर्न छाड्यो । समाज पैसाको सपनामा साटिन पुग्यो । सबै कुरा यसैमा मापन हुन थाल्यो । खुल्ला बजारको प्रयोग हुनथाल्यो । 

अनि अमेरिकी आदर्शले कलामा पनि खलल पु-याउन थाल्यो । स्तरीयता मानी मजाक हुन थाल्यो । विसङ्गत र शून्यताले ठाउँ ओगट्न थाल्यो र संसारलाई नै अर्थविहीन भन्न थाल्यो । जीवनलाई नै बेअर्थको भन्न थाल्यो । युरोपियनहरू पनि त्यसैमा कुद्न थाले । त्यसको बाछिटा हामीकहाँ पनि आइपुगेको छ । हामी पनि अनेक व्याख्या गरेर जीवनको अस्थित्वलाई नकार्न थालेका छौँ । 

योभन्दा ठूलो विचलन के होला ? योभन्दा ठूलो मानव सभ्यतामाथिको प्रहार के होला ? ‘मान्छे केही होइन’मा टुङ्ग्याउने सिद्धान्त पढेर पढाएर हामी महान् बन्न खोज्दैछौँ । मान्छे अरू प्राणीजस्तै हो त ?

जीवनभर गाईको बाछाले बाँ गरेर एउटा आवाजबाहेक अरू किन निकाल्न सक्दैन ? बिरालोले जीवनभरमा म्याउँ गर्नबाहेक मान्छेकै घरमा बसेर पनि किन अरू आवाज निकाल्न सक्दैन ? अनि मान्छेले मात्रै किन बाह्र महिना नपुग्दै भाषा बोल्न थाल्छ ? यो विशिष्टतालाई बुझ्नुपर्ने हो मान्छेले । 

आज पुनर्जागरणको उच्च संस्कृतिलाई, आदर्शलाई अँगालेर हिँड्न गाह्रो भएको छ । किनभने यो युग ‘रोटी र सर्कस’मा साटिन पुगेको छ । रोटीका लागि सर्कस देखाउने । मतलब जे पनि गर्ने । अनि सत्य र यथार्थलाई लात मार्ने । झुटा र असत्यको सहारा लिने । अनैतिकताको साहारा लिने । व्यभिचार र भ्रष्टाचारको साहारा लिने र यथार्थबाट उम्किने छिद्रहरू खोजिरहने । अनि मान्छेलाई मान्छेसँग विभाजनको रेखा कोपरदिने । विभाजन गरिदिने । एउटाको पक्ष लिएर अर्कोलाई सफाया गर्ने । महिला पुरुष, धनी गरिब, जातिपाति, यहाँको उहाँको, धर्म र संस्कृति, भाषा र भेषभूषा, शरीर र मन, चेतना र भावना आदिका नाम लिएर मान्छेलाई विभाजन गर्ने, उफार्ने, मर्न मार्न लगाउने । हामी सञ्चार जगत्मा, कलामा, आख्यानमा, सङ्गीतमा कहीँ पनि मानवीय मूल्य र मान्यताको ताँदो उठाएको पाइन्न । मिडिया त अपराधीहरू, हत्याराहरू, झुटको खेती गर्नेहरू, बलत्कारी र भ्रष्टहरूलाई पैसा खर्च गरेर खोजेर ल्याउँछन् र तिनको प्रचार प्रसार गर्छन् । अनि हामी तिनैलाई ‘नायक’ भनिरहेका छौँ । महान् भनिरहेका छौँ । तर कलाले हाम्रा भावनाहरूलाई स्वस्पूmर्त प्रस्तुत गरिराखेका हुन्छन् । 

उपचार 

खस्किएको मानव संवेदनालाई इन्धन भरेर सही गन्तव्यमा लग्न सांस्कृतिक मूल्य मान्यताहरूको पुनव्र्याख्या जरुरी छ । यसले मानिसका भावना र विचारलाई सच्याएर सुन्दर चिजको रचना गर्न प्रेरित गर्नेछ । त्यसले जीवनको सुन्दरतालाई भौतिक मूल्यमान्यतासँग गारिदिनेछ । अर्थात् हामी प्रफुल्ल हुनु भनेको जीवनको महìव बुझ्नु हो । बाँच्नुको सार बुझ्नु हो । कुरूपतामा सुन्दरता देख्नु हो । अनन्ततालाई बुझ्नु हो । 

कलामा सुन्दरता, सन्तुलन र सत्यता हुन्छ । सुन्दरतामा शक्ति हुन्छ । यथार्थता हुन्छ । सर्वव्यापी मानवीय अर्थ हुन्छ । मानवीय मूल्य हुन्छ । मान्छेका मनहरूलाई समात्ने क्षमता हुन्छ । प्रकृतिको क्यानभाषमा मानव निर्मित कलामा जीवन्तता हुन्छ । जस्तो कि सङ्गीतमा लय, नृत्यमा चाल र चेहरा, साहित्यमा भाव । यिनैले कलालाई अमर बनाउँछन्, अर्थपूर्ण बनाउँछन् । त्यसैले हामी कलाको प्रशंसा गर्छौं । 

युरोपीयन रेनेसा विद्वान्हरूले त्यो सत्यको गहिराइमा नै भए पनि ग्रिसेली आदर्शहरूको नक्कल गरेनन् । न त दोहो¥याए । बरु त्यसलाई पुनव्र्याख्या गरे । परिमार्जन र परिष्कार गरे जसले गर्दा उनीहरूको परिवेशमा उपयुक्त बनोस् । उनीहरूको माटो, हावापानी सुहाउँदो होस् । अनि त्यो सत्यताको गहिराइमा पुगोस् । यही कारण बन्यो युरोपेली पुनर्जागरण जीवन्त बन्ने । युरोपभरि सर्वस्वीकार्य बने । 

अमेरिकी रेनेसा विद्वान्हरूले, अर्कोतर्पm, युरोपेलीहरूको यो सिर्जनशीलतालाई अँगाल्न सकेनन् । भविष्यको भाष्य कोर्न सकेनन् । सुन्दरताको मूल्य देख्न सकेनन् । चाहिने कुरा के हो भने, सुन्दरताको मूल्यलाई नवीकरण गर्नु सिर्जनात्मकता हो । यही मूल्यले भविष्यको भाष्य निर्माण गर्न सक्छ र अनावश्यक इतिहासको बत्ख्याइँ त्यागिदिन्छ ।

कलाले नै यो संसारलाई सुन्दर देख्न प्रेरित गरिरहेको हुन्छ । यसले राष्ट्रिय चेतना दिन्छ, वैयक्तिक क्षमता दिन्छ, अमूल्य जीवनको अमूल्य बाटोमा हिँड्न सङ्घर्षरत बनाइदिन्छ । भलै हामी मानवीय पीडा हटाउन त सक्दैनौँ तर सत्यलाई अँगाल्न त सक्छौँ । सकारात्मक कलाको निर्माण गर्न सक्छौँ र नयाँ अनुभूतिको प्रसारण गर्न सक्छौँ । किनभने कला राजनीति जस्तो निरस हुँदैन । 

हामीभित्र अर्काको भूत

हामी पनि कसरी बिग्रियौँ त ? हामीले यही निरसता रोज्यौँ । कलाकार पनि दलका भयौँ । लेखक बन्न, पुरस्कार पाउन पनि दल र ग्याङ नै चाहियो । अनि सुरु ग¥यौँ इतिहासको बत्ख्याइँ । यही बत्ख्याइँ गरेर थाकेनौँ । यति आन्दोलन गरेको, यति पुल काटेको, यति मान्छे मारेको, यति बम पड्काएको । यति सङ्घर्ष र आन्दोलन गरेको । त्यसैले हामी महान छौँ । 

हाम्रो हिजोको, आजको र भोलिको भाष्य यही हो । अरू कुनै छैन । 

हामी एउटा खतरनाक समयमा छौँ । हामीले यो अँध्यारो युगबाट बाहिर आउन अर्को रेनेसा जन्माउनुपर्ने हुन्छ । तर त्यो सहज छैन । चेतनाको एकीकृत रूपमा दिमाग, शरीर, आत्मा, भावावेग, चेतनालाई लिएर सिर्जना गरिएका कलाको आवश्यकता हो । यसले मात्रै भ्रातृत्वको निर्माण गर्छ र सारा विभेदहरूलाई त्याग्छ । दार्शनिक अभिव्यक्तिले निमार्ण गर्ने सुन्दरता, भावनात्मकता, यथार्थता, आनन्द, आशा, सम्भावना र वास्तविक मानव जीवनको आँकलन गर्न सक्छ । 

प्राचीन ग्रिसेलीहरूको प्रकाशले युरोप ब्युँझियो । त्यो नक्कल थिएन, बरु परिमार्जन र सिर्जना थियो । तर हामी नक्कलतिर गयौँ । हामीले दुई शताब्दीअघिका युरोपीयन व्यक्तिका विचारलाई मुटुभरी राखेर हिँड्यौँ । तिनकै नाममा दल खोल्यौँ । तिनकै नाममा राजनीति गरिरहेका छौँ । कोही अमेरिकी वैयक्तिकवादको दौराको फेर समातेर वैतरणी तार्न राजनीतिक नारा लगाइरहेका छौँ । अनि दिनदिनै देशलाई टाट पल्टाइरहेका छौँ । सिध्याइरहेका छौँ । युवा बेचिरहेका छौँ, कतै सडकमा त कतै विदेशमा । अनि राज्य संयन्त्र नियन्त्रणमा लिएर रमाइरहेका छौँ । 

खोइ त हाम्रो आफ्नै मौलिकता ? खोइ नेपाली रेनेसा ? खोइ नेपाली माटोको आदर्श ? 

कृषि प्रधान देश भनेर खाद्यान्न आयातमा बाँच्न त लाज लागेन नै, विचार पनि आयातीत बोकेर झन्डामुनि बस्न लाज पनि लागिरहेको छैन । 

अनि रोएर केही हुन्न । किनभने हाम्रोमा हामी छैनौँ । हाम्रो विचारमा हामी छैनौँ । हाम्रो सोचमा, व्यावहारमा, सिद्धान्तमा हामी छैनौँ । हामी अर्काकोमा छौँ । सिर्पm खान, सुत्न र बस्न मात्रै यहाँ छौँ । हामी आफ्नै छेउको झरनाको पानी नपिएर ‘प...र’ गएर इनारको कुहिएको पानी पिउनमा रमाइरहेका छौँ । हाम्रो शरीरमा अर्काकै भूतले राज गरिरहेको छ ।