• १४ वैशाख २०८१, शुक्रबार

मिथिला चित्रकलाबाट रङ्गिए सरकारी कार्यालयका पर्खाल

blog

सप्तरीको राजविराजस्थित भूमिसधार तथा मालपोत कार्यालयको पर्खालमा बनाइएको मिथिला चित्रकला । तस्विर – माला कर्ण

माला कर्ण

कल्याणपुर, साउन १२ गते । सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको सरकारी कार्यालयका पर्खालहरु यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । ती पर्खालहरु मिथिला चित्रकलाले रङ्गिएको छ। 

धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइको दृष्टिले कार्यालय परिसर क्षेत्रमा मिथिला कलामार्फत देवी देवताका चित्र बनाउन लागेको हो । 

राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयको पर्खालमा राम र सीताको विभिन्न समयको चित्र बनाएपछि अहिले सबैको ध्यान केन्द्रित भएको हो ।

सीताको जन्म, विवाह र बिदाइको दृश्यसँगै शिव र राधाकृष्णलगायतको देवी देवताको आकर्षक मिथिला चित्र कोरिएको छ । 

पर्खालमा देवी देवताको कलात्मक र सन्देशमूलक मिथिला चित्रकलामा रश्मी कर्ण, पुनम कर्ण, पुनम दत्त, खुसी कर्ण र अञ्जली साहलगायतको टोली तीन सातादेखि चित्र बनाउँदै आएका छन् । 


मधेश प्रदेशको विभिन्न कार्यालय, विद्यालय र स्थानीय तहमा मिथिला संस्कृति झल्काउन मिथिला चित्रकलाको माग बढै गएको बेला आफूहरु उत्साहित बनेको कलाकर्मी रश्मि कर्ण बताउनुहुन्छ । 

विभिन्न राजनीतिक दलद्वारा समय–समयमा पर्खालमा लेखिएका नारा र पोस्टर टाँस्ने गरेको कार्य यस चित्रकलाले रोकिने मालपोत कार्यालय प्रमुख दीपेन्द्रकुमार झाले बताउनुभयो ।

कार्यालयका भित्ताहरुमा पिसाब गर्नै, पान र गुट्का खाएर थुक्नेलगायत गतिविधि पनि याे कार्यले निरुत्साहित हुने उहाँले बताउनुभयो ।