• १३ वैशाख २०८१, बिहिबार

पोखरामा ‘मेट्रो प्रमुख मिट नेपाल’ हुने

blog

पोखरा, साउन १२ गते । पोखरामा देशभरका ६ महानगरका प्रमुख भेला हुने भएका छन् । यही साउन १३ र १४ गते पोखरामा ‘मेट्रो प्रमुख मिट नेपाल’ हुने भएको हो ।

सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्नेछन् । जसमा सङ्घीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ ।

यस्तै, पोखरासहित काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन् । महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदान–प्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन् ।

साथै, दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्नुहुनेछ । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो ।

महानगरबीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने जानकारी उहाँले दिनुभयो । प्रमुख आचार्यले अनुभवी प्रमुखले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘महानगरपालिकाहरु स्वभाविक हिसावले जनसङ्ख्या पनि बढी भएको, वडाहरु पनि धेरै भएको, नेपाल सरकारको स्थानीय तहलाई सबैलाई हेर्ने एकै खालको ऐन, नियमहरु भएको अवस्थामा केही विषयहरु अन्योलपूर्ण छन् । कतिपय संघसँग छन्, कतिपय प्रदेशसँग छन् । हामीले भोगेका समस्याहरु के हुन् ? हामीले के खालको सुझाव दिन सकिन्छ ? र हाम्रा कामलाई सहजीकरण गर्नसक्छौँ भनेर हाम्रा अनुभवहरु शेयर गर्नको लागि हो । महानगरको पूर्वाधार विकासमा के खालको विकास गर्नसक्छौँ भन्ने कुराको छलफल गर्नको लागि हो । यसलाई हरेक वर्ष गर्ने गरेर तयार गरिरहेका छौँ ।’’

अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन् ।