• १३ वैशाख २०८१, बिहिबार

नाटक ‘सिटामोल’ले दिँदैछ व्यङ्ग्य

blog

काठमाडौँ, साउन १२ गते ।  सिनामङ्गलस्थित पुरानो घर थिएटरमा नाटक ‘सिटामोल’को मञ्चन सुरु भएको छ। 

सजीव प्राणी भएपछि रोग नलाग्ने त कुरै भएन तर रोगीको समयमै उपचार नहुँदा, औषधि नपाउँदा र भएको औषधिको पनि सही सदुपयोग नहुँदा ज्यान जाने जोखिम धेरै नै हुन्छ। 

सरकारले धेरैजसो औषधि निःशुल्क प्रदान गर्ने प्रावधान राखेको छ तर त्यसको सही कार्यान्वयन नहुँदा त्यही औषधिलाई हामी महँगो मूल्य तिर्ने गर्छौं। नाटक ‘सिटामोल’ यही सञ्जालमा बेरिएको छ।

देश अहिले निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ। महँगी, कालोबजारी, भ्रष्टाचारले देशको चरम विकासमा जनतालाई सास्ती दिँदै आएको छ। 

बाढीपहिरो, महामारी, कोरोना र भूकम्पजस्ता महाविपत्तिमा पनि अत्यावश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधोपचारमाथि कृत्रिम अभाव सिर्जना गरी कालोबजारीको धन्दा चल्दै आएको छ। र यस विषयमा राष्ट्रिय सुरक्षा प्रणालीको कमजोर ध्यानाकर्षण हुँदा जनताको आधारभूत सुरक्षामाथि मजाक भइरहेको छ। र यही मजाकलाई व्यङ्ग्य गर्दै पुरानो घरले नाटक ‘सिटामोल’ तयार पारेको छ। 

सुलक्षण भारतीको लेखन रहेको नाटकलाई जयराम ढकालले निर्देशन गर्नुभएको छ। अरुण पौडेल, सरिता भुजेल, रितेश कार्की, श्रवण यादव, आलोक थापी, युनिशा बजगाईं। प्रवीण खरेल, अस्मिता भारती, पीयूष कुँवर, धनलक्ष्मी राई, सन्देश कार्की, शिशिर गिरी, सागर भट्टराई, टीका निरौला, सविता तामाङ, सुरेश राई, सरोज खालिङ राई, तुलसी बोहोरा, सुदिन लुइँटेल र अर्नव घिमिरेको नाटकमा अभिनय रहेको छ। 

नाटकमा मनीष निरौला र राजकमल फकिरको सङ्गीत रहेको छ भने नाटक साउन १२ गतेदेखि २५ गतेसम्म पुरानो घर थिएटरमा मञ्चन हुनेछ।