टोपलाल अर्याल
रेसुंगा (गुल्मी), वैशाख १५ गते । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र सारिएको छ । गाउँसभाले इस्मा गाउँपालिका–५ स्थित चाँपटारीमा केन्द्र सार्ने निर्णय गरेको हो ।
यसअघि अघिल्लो नेतृत्वको गाउँसभाले २०७७ मङ्सिर १७ गते इस्मा गाउँपालिका–५ कै रातापोखरामा केन्द्र तोकेको थियो । सो स्थानमा करिब एक करोड रुपियाँ बराबरका संरचना निर्माण गरिए पनि ती अहिले अलपत्र अवस्थामा छन् ।
गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार रातापोखरामा प्राप्त जग्गा अपर्याप्त, वन क्षेत्रभित्र पर्ने र पहुँचका दृष्टिले अप्ठ्यारो भएकाले केन्द्र चाँपटारीमा सार्ने निर्णय गरिएको हो । उहाँका अनुसार गत पुस ९ गते पूर्व गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टसहित राजनीतिक दल तथा सरोकारवालासँग स्थलगत अध्ययनपछि रातापोखरा उपयुक्त नभएको निष्कर्ष निकालिएको थियो ।
चाँपटारीमा गाउँपालिकाको नाममा ४५ रोपनी जग्गा उपलब्ध हुनुका साथै मदन भण्डारी राजमार्ग नजिक पर्ने भएकाले भविष्यमा अन्य पालिकासँग गाभिएर ठुलो संरचना विकास गर्नसमेत सहज हुने ठहर गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
उपाध्यक्ष तथा अधिवक्ता पार्वती कुँवरका अनुसार केन्द्र सार्ने प्रस्ताव इस्मा गाउँपालिका–३ का पोमप्रसाद भुसालले एमालेको तर्फबाट पेश गर्नुभएको थियो भने इस्मा गाउँपालिका–६ का ढालबहादुर कुँवरले कांग्रेसको तर्फबाट समर्थन गर्नुभएको थियो । उहाँले यो निर्णयलाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै लामो समयदेखि रहेको अन्योल अन्त्य भएको बताउनुभयो । साथै, नौ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालयलाई स्थायित्व दिने आधार बनेको पनि उहाँले उल्लेख गर्नुभयो ।
यद्यपि, केन्द्र सार्ने निर्णयको विरोध पनि सुरु भएको छ । इस्मा गाउँपालिका–४ दोहलीका केही सभा सदस्यहरू गाउँसभामा सहभागी भएनन् । पूर्व गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले वर्तमान निर्णयले सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको दाबी गर्नुभयो ।
उहाँका अनुसार आफ्नो कार्यकालमा गरिएको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिसकेको अवस्थामा पुनः केन्द्र सार्नु उचित नहुने हो । विष्टले केन्द्र तोक्ने निर्णय निश्चित अवधिभित्र सीमित पटक मात्र गर्न मिल्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै वर्तमान निर्णय कानुनसम्मत नभएको दाबी गर्नुभयो ।