• १५ वैशाख २०८३, मङ्गलबार

एमआरपीको अनिवार्यता अव्यावहारिक : नाडा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १५ गते । अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले वस्तुमा अधिकतम खुद्रा मूल्य सूचीसहितको स्टिकर टाँस्ने कुरा व्यावहारिक नभएको तर्क गरेको छ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र नाडाका प्रतिनिधिबिच सोमबार भएको छलफलमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको हकमा यो व्यवस्था कार्यान्वयन गर्न समस्या नभए पनि एउटै बाकसभित्र सयौँको सङ्ख्यामा आउने स्पेयर पार्टस्मा छुट्टाछुट्टै स्टिकर टाँस्न सम्भव नहुने तर्क गरिएको हो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत ३० गते जारी गरेको सूचना अनुसार आयातित वस्तुमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने बाध्यतात्मक व्यवस्था गरेको छ । साथै हाल भन्सारमा ‘वन्डेड वेयर हाउस’ को व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै बसेर प्रत्येक सामानमा स्टिकर टाँस्ने अव्यावहारिक रहेको नाडाका प्रतिनिधिले दाबी गरेका छन् । 

जवाफमा भन्सार विभागका महानिर्देशक भण्डारीले सबै प्रकारका अटोमोबाइल वस्तुमा एमआरपी स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न चुनौती रहेको भए पनि कानुनमा व्यवस्था कार्यान्वयनमा पछाडि हट्न नहुने बताउनुभयो । विभागले व्यापार सहजीकरण र राजस्व वृद्धिमा सधैँ ध्यान दिइरहेको बताउँदै उहाँले कानुनमा भएको व्यवस्थाबमोजिम नै प्रक्रिया अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 

महानिर्देशक भण्डारीले उक्त सूचना कानुन अनुसार नै जारी गरिएको बताउँदै पैठारीकर्तालाई तोकिएको समयमै सवारीसाधन जाँचपास गरी लैजान र त्यसका लागि विभागले सहजीकरण गरिदिने आश्वासन दिनुभयो । 

सोही अवसरमा नाडाका महासचिव मिलनबाबु मल्लले वीरगन्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहेका सवारीसाधन तोकिएको समयभित्र जाँचपास गरी लैजान जारी गरेको सूचनाबारे जिज्ञासा राख्नुभएको थियो । सरकारले उपभोक्ताको हितका लागि वस्तु बिक्री गर्दा अनिवार्य रूपमा बिलबीजक जारी गर्नुपर्ने र एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने तयारी गरेको छ ।