राजन रावत
हुम्ला, वैशाख १५ गते । कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको छ । यसअघि कच्ची र भिरालो सडकका कारण सवारी साधनलाई निकै कठिनाइका साथ सञ्चालन गर्नुपर्ने अवस्था थियो ।
सिमकोट–हिल्सा सडकको उक्त कच्ची, असजिलो र भिरालो खण्डमा ढलान कार्य सम्पन्न गरिएको हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डबाट सुरक्षित यात्रा सुनिश्चित गर्न स्थानीयवासी र सवारी चालकहरूको मागअनुसार ढलान गरिएको हो ।
करिब पाँच सय मिटर लामो उक्त खण्ड ढलान भएपछि यातायात सञ्चालन सहज भएको उहाँले बताउनुभयो । सडक साढे ६ देखि ७ मिटर चौडा र २० सेन्टिमिटर बाक्लो ढलान गरिएको छ । निर्माण गरिएको ढलान करिब २० वर्ष टिक्ने गरी डिजाइन गरिएको इन्जिनियर भुसालले जानकारी दिनुभयो ।
कर्णाली करिडोरको हुम्ला खण्डमा च्याछराको यो सडक पहिलो पटक ढलान गरिएको हो । ढलानपछि यस खण्ड पार गर्न लाग्ने समय करिब २० मिनेटबाट घटेर करिब ५ मिनेटमा सीमित भएको छ ।
यसअघि यात्रुहरूलाई सो खण्डमा गाडीबाट ओर्लेर पैदल हिँड्नुपर्ने तथा खाली सवारी मात्र गुडाउनुपर्ने अवस्था थियो । तर, अहिले सिधै र सहज रूपमा सवारी सञ्चालन भइरहेको बोलेरो चालक सिंगम भण्डारीले बताउनुभयो । उहाँका अनुसार पहिले झन्झटिलो र जोखिमपूर्ण रहेको यो सडक अहिले सुरक्षित र सहज बनेको छ ।
यस खण्डमा पहिल्यै पनि सवारी साधन चढ्न नसकेर ब्याक गर्ने र दुर्घटनासमेत हुने गरेको स्थानीयले बताएका छन् ।