• १५ वैशाख २०८३, मङ्गलबार

कोरला नाकाबाट विद्युतीय सवारीसाधन आयात घट्यो

blog

भन्सार जाँचपासका लागि राखिएका विद्युतीय सवारीसाधन । फाइल तस्बिर

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १५ गते ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको आयात ह्वात्तै घटेको छ । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका सञ्चालनमा आएपछि कोरला नाकाबाट आयात हुने चिनियाँ कम्पनीका विद्युतीय सवारीसाधन तथा अन्य सामान बोकेका कन्टेनरको संख्या घटेको हो ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यस भन्सार कार्यालयबाट वैशाख दोस्रो सातासम्म दुई हजार ३४७ विद्युतीय सवारीसाधन जाँचपास भइसकेका छन् ।

गएको माघ महिनासम्म दुई हजार ३२९ सवारीसाधन प्रवेश गरेकोमा पछिल्ला साढे तीन महिनामा केवल १८ वटा मात्र थपिएका छन् । विद्युतीय सवारीसाधन र कन्टेनरको संख्या घटेसँगै यस अवधिमा करिब १९ करोड रुपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालय प्रमुख विदुर चुँडालका अनुसार पुसदेखि फागुनसम्म हिमपात तथा चिनियाँ पर्वका कारण आयात–निर्यात कम भए पनि कार्यालय नियमित सञ्चालनमा रहेको छ । उहाँले भन्नुभयो, “विगतजस्तो चहलपहल नभए पनि सीमापारिबाट नियमित रूपमा सामान आइरहेका छन् ।”

विद्युतीय सवारीसाधनको आयात घटे पनि विद्युतीय सामग्री, घरायसी सामान, कस्मेटिक र तयारी पोशाकजस्ता वस्तुहरू मालवाहक कन्टेनरमार्फत कोरला नाका हुँदै आइरहेको जानकारी उहाँले दिनुभयो ।

नेपालतर्फ उत्पादन हुने हस्तकला सामग्री, कपडालगायत वस्तु पनि निर्यात भइरहेको छ । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा जाँचपास भएपछि सामानहरू १८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडक हुँदै पोखरा पठाइन्छ ।

तातोपानी र रसुवागढी नाकाको तुलनामा कोरला नाकाबाट विद्युतीय सवारीसाधन ढुवानीमा सडक सञ्जालका कारण समस्या हुने व्यापारीहरूको गुनासो छ । कोरला–जोमसोम–बेनी सडकखण्डमा ठूला कन्टेनर सञ्चालन गर्न नसकिने भएकाले सवारीसाधन गुडाएरै लैजानुपर्ने बाध्यता रहेको छ ।

समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि बन्द भएको थियो । लामो समयपछि यो नाका विसं २०८० कात्तिक २७ गते औपचारिक रूपमा सञ्चालनमा आएको हो ।