केशवराज भट्ट
वाशुलिङ (बैतडी), वैशाख १५ गते । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
निङ्गलाशैनी योग साधना केन्द्र देहीमाण्डौंको आयोजनामा वैशाख १८ देखि २२ गतेसम्म शिविर सञ्चालन हुने साधना केन्द्रका अध्यक्ष विरसिंह बोहराले जानकारी दिनुभयो ।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सञ्चालन हुने शिविरले शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा मानिसलाई सबल बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ । साधना केन्द्रका सुरेन्द्र बोहराका अनुसार योगप्रति नागरिकलाई आकर्षित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
शिविरमा साध्वी देवकृपाज्यूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने उक्त शिविरमा सहभागी हुन इच्छुक सबैलाई आमन्त्रण गरिएको छ ।
निङ्गलाशैनी योग साधना केन्द्रले पछिल्लो समय निरन्तर रूपमा यस्ता योग विज्ञान शिविर सञ्चालन गर्दै आएको छ । नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ बनाउन योगको महत्वपूर्ण भूमिका रहने आयोजकको भनाइ छ । मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले योग अभ्यास गरिँदै ।