जनार्जन खत्री
सर्लाही, वैशाख १५ गते । सर्लाहीको सर्पदंश उपचार केन्द्र, नवलपुरमा आइसियू र भेन्टिलेटर उपकरण विगत छ वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको छ । सञ्चालनका लागि प्रदेश तथा सङ्घीय सरकारका मन्त्रीदेखि सांसदसम्मलाई पटक–पटक निरीक्षण गराई ध्यानाकर्षण गराउने प्रयास भए पनि उपकरण सञ्चालनमा आउन सकेको छैन ।
यस अवधिमा दर्जनौँ सांसद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी तथा अन्य उच्च पदस्थ व्यक्तिलाई निरीक्षण गराइए पनि आइसियू र भेन्टिलेटर सञ्चालन हुने कुनै ठोस प्रगति देखिएको छैन । उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलका अनुसार उपकरण सञ्चालनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको छ ।
हालै सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य नीतिमा भण्डारी कार्कीलाई पनि उपचार केन्द्रमा निरीक्षण गराई अवस्था अवगत गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित कार्कीलाई थन्किएको उपकरण सञ्चालन तथा आर्थिक अवस्थाबारे विस्तृत विवरणसहित फाइल बुझाइएको अध्यक्ष पौडेलले बताउनुभयो ।
गर्मी बढेसँगै सर्पदंशका बिरामी आउने क्रम बढेको छ । हाल उपचार केन्द्रमा सर्पले डसेका बिरामीलाई एन्टीस्नेकभेनमको सहायताले उपचार गरिन्छ । तर जटिल अवस्थामा रहेका बिरामीलाई आइसियू र भेन्टिलेटर सुविधा भएका जनकपुर वा अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ ।
समयमै रेफर गर्दा बाटोमै बिरामीको मृत्यु हुने जोखिम समेत रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । उपचार केन्द्रका इन्चार्ज जगन्नाथ यादवका अनुसार आइसियू र भेन्टिलेटर नहुँदा जोखिम मोलेर उपचार गर्नुपर्ने अवस्था छ ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटर २०७६ सालदेखि प्रयोगविहीन छन् । मधेश प्रदेश सरकार र लालबन्दी नगरपालिकाको सहयोगमा खरिद गरिएका यी उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा थन्किन पुगेका हुन् ।
दक्ष जनशक्ति व्यवस्थापनका लागि पटक–पटक पहल गरिए पनि सफलता मिल्न नसकेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्बन्धित सबै निकायमा पहल गरिसकेका छौँ, तर आइसियू र भेन्टिलेटर सञ्चालनको समाधान अझै हुन सकेको छैन ।”
उपचार केन्द्रले विज्ञ चिकित्सकका लागि बारम्बार दरखास्त आह्वान गरे पनि आवेदन नपरेको जनाएको छ । २०७६ साल असार २३ गते सेवाभावले कार्यरत डा. अर्जुन लामामाथि कुटपिट भएपछि अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उपकरण सञ्चालनमा हिचकिचाउने गरेका छन् ।
त्यसयता आइसियू र भेन्टिलेटर सञ्चालन हुन नसक्दा सर्लाहीमा सर्पदंशका बिरामीको उपचार मुख्यतः एन्टीस्नेकभेनममै सीमित भएको छ ।