• १५ वैशाख २०८३, मङ्गलबार

जग्गाधनीपुर्जा वितरणको तयारी

blog

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), वैशाख १५ गते । भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले यहाँका थप डेढ सय अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ । जिल्लाको लेकम गाउँपालिकामा पालिकास्तरीय भूमि समस्या समाधान सहजीकरण समितिको बैठकबाट कानुन अनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको लेकम गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय सहजीकरण समिति प्रमुख रामदत्त जोशीले जानकारी दिनुभयो । 

उहाँले गाउँपालिकाभित्र रहेका छ वटै वडाबाट निवेदन परेका १५० जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि समन्वय गरिएको बताउनुभयो । प्रक्रिया पुगेका भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा वितरणका लागि काम भइरहेको बताइएको छ । 

यसअघि आयोगले यहाँको विभिन्न स्थानीय तहका ८० जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।

आयोगले यहाँको शैल्यशिखर नगरपालिकाका ५२ जना, दुहुँ गाउँपालिकाका १९ जना महाकाली नगरपालिकाका–७ र नौगाड गाउँपालिकाका–४ जना गरेर ८० जना अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको उहाँले बताउनुभयो । दुई हजार ८०३ जना नयाँ र ५३० जना अपुरा र अधुरा रहेका गरेर तीन हजार ३३३ जनामध्ये ८० जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताइएको छ । आयोगले अब यहाँका तीन हजार २५३ जनालाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेको बताउनुभयो । साथै पाँच सयभन्दा बढी फाराम आयोगको सिस्टम नचलेका कारण लगतमा प्रविष्टि हुन बाँकी रहेको तथा कित्ताकाट नभएका र सेतो प्रमाणपुर्जा भएकालाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न बाँकी रहेको बताइएको छ । 

जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेका आयोगमा लगत प्रविष्टि भएका अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई प्रमाणपुर्जा दिलाउने प्रक्रिया समेतअघि बढेको उहाँले जानकारी दिनुभयो । वितरण गरिएका प्रमाणपुर्जा भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोवासी र भूमिहीन दलितको लगत सङ्कलनसम्बन्धी कार्यविधि २०७८ अनुसार जग्गाको नापजाँच, मुचुल्का र राजस्व सङ्कलनलगायतका आवश्यक प्रक्रिया पूरा गरेर वितरण गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

यहाँको महाकाली नगरपालिकामा ४३१, शैल्यशिखर नगरपालिकामा ६२८, लेकम गाउँपालिकामा १७३, नौगाड गाउँपालिकामा ३२७, मार्मा गाउँपालिकामा १६८, अपि हिमाल गाउँपालिकामा ६९१, मालिकार्जुन गाउँपालिकामा ९४७, दुहुँ गाउँपालिकामा १६१ र व्यास गाउँपालिकामा २६६ भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ ।