अमरराज नहर्की
तनहुँ, वैशाख १५ गते । ग्रामीण भेगबाट सुविधा खोज्दै सहर झर्ने अनियन्त्रित लहरले बस्तीहरू रित्तिँदै जान थालेका छन् । तनहुँको ग्रामीण क्षेत्रमा पछिल्लो ९ महिनाको तथ्याङ्कले बसाइँसराइको भयावह चित्र प्रस्तुत गरेको छ ।
जिल्लाको घिरिङ गाउँपालिकामा मात्रै चालु आर्थिक वर्षको साउन १ देखि चैत मसान्तसम्म ९० परिवारले बसाइँसराइको कागजात लिएर गाउँ छाडेका छन् । यसको तुलनामा अन्यत्रबाट गाउँ भित्रिनेको संख्या भने निकै न्यून अर्थात् जम्मा ८ परिवार मात्र रहेको छ । यो तथ्याङ्कले गाउँ छाड्नेको तुलनामा भित्रिनेको संख्या १० गुणाले कम अर्थात् जम्मा ८.८८ प्रतिशत मात्र रहेको देखाउँछ । कागजात नलिई अन्यत्र बस्ने तर आवश्यक परेको बेला मात्रै बसाइँसराइको प्रमाण लैजाने परिवारको सङ्ख्या गणना गर्ने हो भने यो अवस्था अझै डरलाग्दो हुने स्थानीयको बुझाइ छ ।
बसाइँसराइको मुख्य कारण गाउँमा उचित शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव मात्र नभई जीर्ण सडक पूर्वाधार र बढ्दो बाँदर आतङ्क देखिएको घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रनबहादुर रानाका अनुसार भिमाददेखि देउरालीसम्म जोड्ने श्रृङ्गमार्ग र कृष्णमार्ग जस्ता मुख्य सडकहरू वर्षौँदेखि मुद्दा मामिलाले गर्दा अलपत्र परेपछि स्थानीयमा निराशा छाएको छ । धुलम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता हुँदा गाउँका युवाहरुले छोरी पाउन कठिन ।
सडक गतिलो नहुँदा बिरामी, सुत्केरीलाई कठिन हुने जस्तो कारणले गाउँ रित्तिँदै गएको छ । गाउँमा बढेको बाँदर आतङ्कले कृषकको अन्नबाली सखाप पारेपछि उत्पादनशील जमिन बाँझो राखेर मानिसहरू पलायन हुन बाध्य भएका छन् । उत्पादनशील जनशक्ति पलायन भएपछि हिजो मकै, मास र अदुवाका लागि प्रख्यात गाउँहरूमा अहिले खाद्यान्न र तरकारी समेत बजारबाट किनेर खानुपर्ने बाध्यता आइलागेको वडा नम्बर ४ अध्यक्ष भीमबहादुर कुमालले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष होमबहादुर थापाले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता पूर्वाधार पुर्याइए पनि उपभोग गर्ने नागरिक नहुँदा विकासका योजनाहरू प्रभावकारी हुन नसकेको बताउनुभयो । गाउँपालिकाले बसाइँसराइ निरुत्साहित गर्न व्यवसायीक खेतीमा ५० प्रतिशत अनुदान र आयआर्जनका कार्यक्रम ल्याए पनि सडकको कानुनी अल्झन र बाँदर नियन्त्रणका लागि सङ्घीय सरकारको ठोस पहल आवश्यक देखिएको अध्यक्ष थापा बताउनुहुन्छ ।