दैलेख समाचारदाता
दैलेख, वैशाख १५ गते । दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकोशी क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले नाभिस्थानमा धार्मिक पर्यटन मेला सञ्चालन गरिएको छ । ओझेलमा परेको धार्मिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलामार्फत पञ्चकोशी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्ने लक्ष्य राखिएको पञ्चकोशी क्षेत्र विकास संस्थाले जानकारी दिएको छ । पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नवीनकुमार योगीले दैलेखको पञ्चकोशी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन धार्मिक पर्यटन मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले विशेष गरी भारतमा रहेको हिन्दु धर्मावलम्बी तथा अन्य मुलुकका हिन्दु धर्मावलम्बीलाई दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटकका रूपमा भित्र्याउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार मेलाको विशेष आकर्षणका रूपमा १८ वर्षीया पूज्यमाता कीर्ति किशोरीजीद्वारा दिव्य स्कन्दपुराण वाचन भइरहेको छ । पुराण श्रवणका लागि जिल्लासहित भारत सरकारका पूर्वसचिव एवं भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायसहितको टोली दैलेखको पञ्चकोशी क्षेत्रमा आएको उहाँको भनाइ छ । धार्मिक पर्यटन मेलामा सहभागी भारत सरकारका पूर्वसचिव डा. उपाध्यायले दैलेखको पञ्चकोशी क्षेत्र अत्यन्तै पूण्यभूमि रहेको बताउँदै यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले यहाँको पानी, ज्वाला, जडीबुटी विभिन्न रूपमा अद्वितीय रूपमा सम्पन्न रहेकाले यस क्षेत्रको प्रचारप्रसारका साथै पुण्य प्राप्तिका लागि पञ्चकोशी क्षेत्रको दर्शन गर्नुपर्ने सन्देश भारतमा गएरसमेत दिने जनाउनुभयो ।
मेलामा पूजाआराधना, भजनकीर्तन, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत राखिएको छ । पञ्चकोशी क्षेत्र धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पर्याप्त प्रचारप्रसार अभावका कारण अपेक्षित रूपमा पर्यटक भित्रिन नसकेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले यस्ता कार्यक्रमले यस क्षेत्रको विकास, व्यापार व्यवसाय विस्तार तथा रोजगारी सिर्जनामा टेवा पुग्ने जनाएका छन् । होटेल व्यवसायी, यातायात व्यवसायी तथा साना उद्यमीले मेलाबाट आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छन् ।