• ८ वैशाख २०८१, शनिबार

नवदुर्गाको मुकुण्डो बनाउन सुरु

blog

भक्तपुर, साउन ११ गते । नवदुर्गा देवगणका १३ ख्वापा (मुकुण्डो) बनाउन मङ्गलबारदेखि शुभारम्भ गरिएको छ । प्रत्येक वर्ष गठामुगः घण्टाकर्णको दिनदेखि पूर्ण चित्रकारले मुकुण्डो तयार पार्नुहुन्छ । याछेंको नवदुर्गा बनाउने घरमा प्रत्येक दसैँमा उहाँलाई दौडधुप हुन्छ, मुकुण्डो बनाइसक्ने । चित्रकारको दौडधुप घण्टाकर्णको दिनदेखि नै हो– यो दिन सृष्टिको सुरुवात हुन्छ । १३ वटा मुकुण्डो बनाउने कालो माटो भाग लगाएर पूजा गरिन्छ ।

चित्रकार भन्नुहुन्छ, “माटोको विधिवत् पूजा गरेपछि मुकुण्डो बनाउने तयारी चल्छ । सबभन्दा पहिला महादेवको सिर्जना हुन्छ अनि अन्य देवता ।” उहाँका अनुसार रङका लागि जडीबुटीदेखि सुनसम्म प्रयोग हुन्छ । भक्तपुरको सबैभन्दा महत्त्वपूर्ण नाचका रूपमा रहेको नवदुर्गा नाचको १३ वटा मुकुण्डोे तीन महिनामा तयार गर्न‘पर्दछ । वि.सं. २०२० देखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आउनुभएका चित्रकारले धर्मसंस्कृतिको जगेर्नाका लागि मात्र मुकुण्डो बनाउन नछाडेको स्पष्ट पार्न‘भयो । उहाँको उमेरले समेत साथ छाड्दै ल्याएकाले आफूपछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताउनुभयो । 

नवदुर्गा नाच नाच्ने ‘बनमाला’हरू मुकुण्डो लिन खर्पन लिएर आउँछन् चित्रकारले जानकारी दिँदै दिनभरिको प्रदर्शन सक्किएपछि रातितिर खर्पनको एकातिर छवटा र अर्कोमा सातवटा मुकुण्डो राखेर लैजान्छन् । मुकुण्डो देवगणलाई हस्तान्तरण गरेपछि खःमेय् जात्रा हुन्छ ।

भोलिपल्ट (दशमी) ब्रह्मायणीमा मुकुण्डो प्रदर्शन गरेर भव्य मेला लाग्छ । राति देवगणहरू भक्तपुर दरबारस्थित तलेजु मन्दिर पुग्छन् । तान्त्रिक रूपले देवदेवी बनेका नवदुर्गा देवगणलाई तलेजुले विधि पु¥याएर थप सिद्धि दिएपछि पूर्णतः देवदेवी हुन्छन् भन्ने मान्यता छ । 

नवदुर्गाका मुकुण्डोमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, इन्द्रायणी, महाकाली, गणेश, भैरव, दुम्ह, सिंह र श्वेतभैरव हुन्छन् । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार हरेक वर्ष नवदुर्गा नौ महिनासम्म जीवित रहन्छिन् । भलभल अष्टमीमा देवगणको मृत्यु हुने मान्यताका साथ एकसाथ राखेर मानिसको लास जसरी नै जलाइन्छ । “यसले सृष्टिमा भगवान्सहित सबै कुराको अन्त्य हुन्छ भन्ने सङ्केत गर्छ,” उहाँले भन्नुभयो । नवदुर्गा नाच लिच्छवीकालीन मानिन्छ । यो नाच भक्तपुरका २२ टोलसँगै अन्य ठाउँमा पनि प्रदर्शन गर्नुपर्छ  ।