गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २६ गते । लेखक सुजी मिलरद्वारा लिखित नाटक ‘प्रिमा फसी’ को एउटा चर्चित भनाइ छ, “आफूलाई जे लाग्छ, त्यो सत्य नहुन पनि सक्छ ।” व्यावसायिक मर्यादा, जटिल प्रश्नमाथि खुला बहस र संवाद, बाहिर भनिएको र भित्री सत्यलाई केन्द्रमा राखेर बनाइएको नाटक ‘प्रिमा फसी’ मा जीवनका अनेक आयामलाई प्रस्तुत गरिएको छ ।
कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘प्रिमा फसी’ मा सामाजिक जागरणका पक्षमा महत्वपूर्ण प्रश्न उठाइएको छ । काननुकर्मीको व्यावसायिक चरित्र, आफूमाथि भएको अन्याय र त्यसपछिको सङ्घर्षलाई नाटकमा मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ । कलाकार एवं निर्देशक आकाङ्क्षा कार्कीको निर्देशन, कलाकार पशुपति राईको प्रस्तुति र दुर्गा कार्कीको अनुवादमा प्रस्तुत नाटकका दृश्य निकै पीडादायक पनि छन् ।
यसैबिच, महान्यायाधिवक्ता सविता भण्डारीले कौसी थिएटर पुगेर ‘प्रिमा फसी’ नाटक हेर्नुभएको छ । उहाँले समसामयिक विषयमा नाटक बनेको र अपराधको अनुसन्धानका विविध पक्ष, पुरुष मानसिकता, महिलामाथि हुने विभेद र सामाजिक दृष्टिकोणका सन्दर्भमा नाटक केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकमार्फत प्रश्न उठेका छन्, अदालत, सरकारी वकिल, प्रहरीको अनुसन्धान, पुरुष मानसिकता अर्थात् हाम्रो सामाजिक मनोविज्ञानमाथि प्रश्न उठाइएको छ । सबै प्रश्नका जवाफ कसरी र कहिले पाउने भन्ने पनि निश्चित छैन ।”
महान्यायाधिवक्ता भण्डारीले नेपालका विभिन्न जिल्लामा जाँदा सामाजिक विभेद र हिंसा भोगेका अनेकौँ घटना देखेको जानकारी दिँदै मानसिकता बदलेपछि मात्रै न्यायपूर्ण समाज निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै काम गर्न बाँकी छ । समाज रूपान्तरणको नयाँ अध्याय आरम्भ हुँदै छ । विस्तारै न्याय र समानतायुक्त समाज बन्छ, बन्नु पर्छ ।” कलाकार पशुपति राईले विभेदका अनेक घटना र मानसिकता परिवर्तनका पक्षमा जागरण ल्याउने, सामाजिक रूपान्तरणमार्फत नवीन सामाजिक परिवेश निर्माणका लागि विमर्श सुरु गर्न नाटकले अभिप्रेरित गर्ने बताउनुभयो ।