• १५ असार २०८१, शनिबार

श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अभियान

blog

काठमाडौँ, साउन ११ गते ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आगामी चार वर्षभित्र २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राजधानीमा साउन ७ देखि १० गतेसम्म सञ्चालित जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले सो घोषणा गरेको हो । 

महाधिवेशनले वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका श्रमिक गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिनेछ र यसका लागि अहिलेबाटै अभियान सञ्चालन गर्ने जनाएको छ । 

जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको आगामी चार वर्षको कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले स्वास्थ्य बीमाको प्रचार गर्ने, उपचारमा सहयोग गर्ने र प्रिमियम सङ्कलनमा हस्तक्षेप गर्ने योजना पनि बनाएको जानकारी दिनुुभयो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई अन्यायमा पर्न नदिन सीमापारिको समस्या : सङ्गठन र सफलता भन्ने कार्यक्रम पनि जिफन्टले सञ्चालन गर्नुुका साथै युवा र महिलालाई ट्रेड युनियन आन्दोलनमा जोड्न पनि अभियान सञ्चालन गरिने जानकारी दिनुुभयो ।

ज्याला रोजगारीलाई मर्यादित बनाउने, श्रम अडिट कार्यान्वयन गर्न दबाब सिर्जना गर्नेलगायतका अभियान पनि सञ्चालन गर्ने जिफन्टले जनाएको छ । यसैगरी पालिका तहमा श्रमिक पञ्जिकरणका लागि पनि तीव्रता दिने जिफन्टले कार्यक्रम पारित गरेको छ ।