• ७ वैशाख २०८३, सोमबार

दरबन्दी मिलानमार्फत सामुदायिक विद्यालयको नतिजा सुधार्ने लक्ष्य

blog

अमरराज नहर्की
तनहुँ, वैशाख ७ गते ।
व्यास नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गरी विद्यार्थीको सिकाई उपलब्धि (नतिजा) सुधार्ने उद्देश्यले शिक्षक दरबन्दी मिलानको प्रक्रियालाई तीव्रता दिएको छ । यसका लागि नगरपालिकाले वैज्ञानिक आधारमा शिक्षक व्यवस्थापन गर्न नगरपालिकाले विशेष समिति गठन गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले लामो समयदेखि कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी हुने र कतै शिक्षक अभावले गर्दा पठनपाठन प्रभावित हुने समस्या समाधानको लागि समिति गठन गरिएको हो । नगर शिक्षा प्रमुख केदारराज आचार्यको संयोजकत्वमा गठित ५ सदस्यीय प्रस्ताव समितिलाई आइतबार ७ दिनभित्र शिक्षक कर्मचारी पदस्थापन सम्बन्धी ठोस प्रस्ताव पेश गर्न कार्यादेश दिइएको छ ।

न्यौपानेले दरबन्दी मिलान केवल प्रशासनिक प्रक्रिया मात्र नभई नगरको शैक्षिकस्तर सुधार्ने मुख्य कडी भएको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य सामुदायिक विद्यालयको नतिजा सुधार्नु हो। विद्यार्थी र शिक्षकको अनुपात नमिल्दा कतिपय विद्यालयमा समस्या देखिएकाले वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गरी सिकाई वातावरण प्रभावकारी बनाउन हामी लागेका छौँ ।’’

नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडाध्यक्ष सुरेश थापाले प्रतिवेदनका आधारमा आवश्यकता अनुसार शिक्षकहरूको पदस्थापन गरिने जानकारी दिनुभयो । थापाले भन्नुभयो, “दरबन्दी मिलानमार्फत शिक्षकहरूको न्यायोचित व्यवस्थापन हुनेछ, जसले अन्ततः सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउने र नतिजामा सुधार ल्याउने हाम्रो लक्ष्य छ ।’’

शिक्षक कर्मचारीको दरबन्दी मिलान प्रतिवेदन अनुसार पदस्थापन भएपछि शिक्षकको अभाव भएका विद्यालयहरूले ठुलो राहत पाउने उहाँको भनाइ छ । यो प्रक्रियाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा जनशक्तिको उचित बाँडफाँट भई सिकाई उपलब्धि बढ्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ ।