• १६ भदौ २०८१, आइतबार

केन्या सडक दुर्घटना: तीस जनाको मृत्यु

blog

नैरोवी,  साउन १० गते । गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।     

घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ । देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।     

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।     

शुरुमा दिएको जानकारीमा यस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको थियो ।     

गम्भीर अवस्थामा रहेका छ जनाको मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको बताइएको छ ।स्पष्ट कारण नखुलेपनि बस तिव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । –  रासस / सिन्ह्वा