• ८ वैशाख २०८१, शनिबार

कर्मचारी कमिसनको मारमा किसान

blog

गणेश पौडेल

पर्वत, साउन १० गते । पर्वतको कुश्मा नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा विक्रीवितरण हुने उपकरणमा विक्रेतासँग कर्मचारीले कमिसन लिने गरेको पाइएको छ । बजारमा व्यक्तिगत रुपमा खरिद गर्दा ४० हजारसम्ममा पाइने हलोमा कृषकहरुले ५२ हजार तिर्ने गरेको पाइएको हो ।

कृषि शाखाका कर्मचारीलाई ८ देखि १० हजारसम्म कमिसन दिनुपरेको व्यवसायीहरुको गुनासो छ । यस्तै, जिल्ला दररेट निर्धारण समितिमा समेत कृषि क्षेत्रबाट जाने प्रतिनिधिले बजार मूल्यभन्दा बढि राखेर नीतिगत भ्रष्टाचार गर्ने गरेका छन् । 

‘कृषकले सिधै खरिद गर्दा केही कम हुन्छ’ एक व्यापारीले भन्नुभयो– ‘भ्याट र कमिसन दिनु नपर्दा सस्तो हुन्छ ।’ कार्यालयलाई विक्री गर्दा भ्याट अनिवार्य हुन्छ भने व्यक्तिगत रुपमा विक्री हुँदा भ्याट छुट दिन सकिन्छ । 

व्यापारीका अनुसार कर्मचारीहरुले सामान खरिदका लागि टोकन दिएर पठाउने तर भुक्तानी दिनेबेला कमिसन छुट्याउनुपर्छ । 

यस वर्ष कुश्मा नगरपालिकाबाट हलो र कुटनी पिसनी मिल गरी करिब चार सय वितरण भएका छन् । 

कृषकहरुका अनुसार सामान लगेको केही दिनमा बिग्रिने तथा पड्किने समस्या रहे पनि कतैबाट सो बारे चासो दिइएको छैन । 

यता, कुश्मा नगरपालिकाका कृषि शाखा प्रमुख बलबहादुर जिटी भने कुनै व्यापारीसँग मिलेमतो नभएको र कृषकहरुले स्वतःस्फूर्त रुपमा किनेर लैजाने गरेको बताउनुहुन्छ ।