• १३ साउन २०८१, आइतबार

सुत्केरीपछि पाठेघर भित्र छाेडियाे प्याड

blog

–सांकेतिक तस्विर

तिलाचन पाण्डे

तम्घास, साउन १० गते । गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका महिलाको पाठेघर भित्रै प्याड रहेको रहस्य सार्वजनिक भएको छ ।

गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका ८ की २१ वर्षीया अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको भन्दै पाण्डेका परिवारले आरोप लगाएका छन् । सुत्केरी पाण्डेलाई असार २९ गते अवस्था सामान्य रहेको भन्दै गुल्मी अस्पतालले डिस्चार्ज गरेको थियो । 

घर पुगेपछि खान मन नलाग्ने, नवजात शिशुलाई दूध चुसाउन पनि समस्या भएको र तल्लो पेट दुख्ने समस्या आएपश्चात् स्थानीय महिलाले केही समस्या भयो की भनेर पाठेघरमा हेर्दा सेतो धागो देखेको अप्सराका कान्छा बुबा दीपक कुँवरले बताउनुभयो । 

उक्त धागोलाई के रहेछ ? भनेर हेर्दा प्याड देखेपछि स्थानीय स्वय्म सेविकाले निकालेको र प्याड आफूहरुसँग सुरक्षित रहेको कुँवरले दाबी गर्नुभयो । कुँवर हाल जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी वरिष्ठ हवलदार पदमा कार्यरत हुनुहुन्छ ।

अस्पतालको गम्भीर लापरवाहीका कारण उक्त समस्या आएको र स्वास्थ्यप्रति खेलवाड गरेको कुँवरले आरोप लगाउनुभयो । साउन ९ गते सोमबार अप्सरा र उहाँको परिवार गुल्मी अस्पतालमा उपचारका लागि आउनुभएको हो । उहाँको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

यता, जिल्ला अस्पताल गुल्मीका प्रमुख डा. उत्तम पच्याले पाठेघरभित्र प्याड रहेको भन्नेबारेमा उहाँहरुले आरोप लगाएको बताउनुभयो । केही समस्याहरु हुन सक्छन् र कमी कमजोरीहरु पनि हुनसक्ने भन्दै प्याड देखाउन उहाँले आग्रह गर्नुभएको छ । 

डिस्चार्ज गर्नुभन्दा पहिले पाठेघरको बाहिरी भागमा राखिएको प्याडलाई पिसाव फेर्न जाँदा निकाल्न भनिएको र अन्य प्याडहरु नराखिएको जिल्ला अस्पताल गुल्मीले प्रतिक्रिया दिएको छ ।

हालसम्म कँहि कतैबाट केही समस्याहरु नआएकोमा अहिले यस्तो आरोप आउँदा आफूलाई पनि आश्चर्य लागेको पच्याको भनाइ छ ।