• १ वैशाख २०८३, मङ्गलबार

राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत विद्यालय भवन शिलान्यास

blog

भवनको शिलान्यास गरिँदै। तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 
वराहक्षेत्र, वैशाख १ गते ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा आठकोठे पक्की भवन बन्ने भएको छ। वराहक्षेत्र नगरपालिकामार्फत निर्माण हुने दुईतले आरसिसी भवनको शिलान्यास गरिएको छ।

वराहक्षेत्र–५ मा रहेको उक्त विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमिस तथ्याङ्कको प्राप्त नतिजाका आधारमा भवन निर्माणको स्वीकृति प्राप्त भएको विद्यालयले जनाएको छ। भवनको शिलान्यास वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले एक कार्यक्रमका बिच गर्नुभएको हो।

संघीय सरकारको बजेटबाट निर्माण सुरु गरिएको उक्त पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिका–५ मा रहेको नमुना कन्स्ट्रक्सनले रु. ९६ लाख १३ हजार ३८९.७५ मा सम्झौता गरी काम सुरु गरेको बताइएको छ। निर्माणाधीन भवन आगामी असार १५ भित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ।

जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा तथा कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा पठनपाठन हुँदै आएको छ। कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान विषय अध्यापन भइरहेको छ भने सिटिइभिटीअन्तर्गत डिप्लोमा तहमा बाली विज्ञान र पशु विज्ञान पनि पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक योगराज पौडेलले बताउनुभयो।

विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यो विद्यालय सुनसरी जिल्लाकै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रूपमा परिचित छ।