• १ वैशाख २०८३, मङ्गलबार

‘सुशासन र विकासको अनुभूति हुने गरी काम गर्छु’

blog

जयकृष्ण यादव 

इनरुवा, वैशाख १ गते । राजनीतिक बेथिति र सुशासनको अभाव देखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्थापनाकालदेखि जोडिएकी निशा मेहता हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ सांसद हुनुभएको छ । 

स्थापनादेखि पार्टीको साधारण सदस्य हुँदै केन्द्रीय सदस्यसम्म बन्नुभएकी मेहता विसं २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा समावेश भए पनि सांसद हुन पाउनुभएको थिएन । नवनिर्वाचित सरकारको स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्रीका रूपमा उहाँले यतिबेला मन्त्रालय हाँकी रहनुभएको छ । 

सुनसरीको इनरुवा नगरपालिका–२ मा जन्मिनुभएकी मेहता उच्च शिक्षा हासिल गर्ने क्रममा राजनीतिमा चासो राख्नुहुँदैनथ्यो । स्थानीय इनरुवा इङ्ग्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्र्तीण गर्नुभएकी उहाँले भारतको मध्य प्रदेश स्थित जिवाजी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोस्ट ग्य्राजुएट कलेज अफ नर्सिङ, ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “प्रयास र निरन्तरताले सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदेश्यका साथ राजनीतिमा निरन्तर लागेकाले महत्वपूर्ण जिम्मेवारी पनि पाएको छु । आफ्नो जिम्मेवारीलाई देश र जनताको सेवामा इमानदारीसाथ पालना गर्ने छु ।” 

विकास, सुशासन र स्वास्थ्यमा नागरिकको पहुँच बढाउन आफ्नो ध्यान केन्द्रित रहने उहाँले बताउनुभयो । विगतका कमिकमजोरीलाई ध्यानमा राखेर देश र जनताको अनुकूल हुने गरी नीतिगत सुधार, व्यावहारिक र प्रशासनिक सुधार गर्दै नागरिकलाई सुशासन र विकासको अनुभूति हुने गरी काम गर्छु, उहाँले स्पष्ट पार्नुभयो । सार्थक सन्देश र नतिजामुखी काम गरेर देखाउने पक्षमा आफू रहेको बताउँदै उहाँसँग धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा तीन वर्ष काम गरेको अनुभव छ । उहाँले विराटनगरको विराट टिचिङ अस्पतालमा नर्स र सहप्राध्यापकका रूपमा आबद्ध भएर काम गरिसक्नुभएको छ । स्वास्थ्य क्षेत्रको आफ्नो विगतको अनुभवले स्वास्थ्य क्षोत्रका नीति तथा कानुन बनाउन सहज हुने उहाँको विश्वास छ । 

उहाँले स्वास्थ क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न आवश्यक नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “सेवा गर्न राजनीतिमा आएको हुँ ।”

दाजुको प्रेरणाले राजनीतिमा आएको बताउने मेहता निर्वाचनका क्रममा सुनसरीका हरेक स्थानमा पुगेको बताउनुहुन्छ । उहाँको दाजु राजन मेहता नेपाली कांग्रेसको इनरुवा सभापति र नगरपालिकाको प्रमुखसमेत हुनुहुन्छ । उहाँले आफू क्षेत्र नं २ को भए पनि समग्र सुनसरीको विकासका लागि सक्रिय रहने बताउनुभयो ।