• ३ साउन २०८१, बिहिबार

पत्रकारलाई पहिलो पटक आजीवन वृत्ति

blog

काठमाडौँ, साउन १० गते ।  लामो समयदेखि पत्रकारितामा कार्यरत वरिष्ठ पत्रकारलाई पहिलो पटक वृत्ति वितरण दिन सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकारलाई वृत्ति वितरण दिन सुरु गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पद्मभक्त खरेल (वर्ष ७७), निरोधराज पाण्डे (वर्ष ७३) र चिरञ्जीवी अर्याल (वर्ष ६७) लाई वृत्ति वितरण प्रदान गरियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उहाँहरूलाई प्रदान गरिने रकम प्रदान गर्नुभयो । पत्रकार खरेल, पाण्डे र अर्याललाई क्रमशः दस हजार, सात हजार र पाँच हजार रुपियाँ प्रदान गरियो ।  यस वर्षको साउनदेखि आजीवन उहाँहरूको खातामा सो रकम पठाइने छ । मन्त्री कार्कीले वृत्ति वितरण कार्य नयाँ कामको प्रारम्भ भएको बताउँदै यसमा गौरवभन्दा सन्तोष गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस रकमले तपाईंहरूको जीविका चल्न त सक्दैन तर यो रकमले पत्रकारिताको मर्यादा, सम्मानलाई आत्मसात् गर्छ र सरकार तपाईंहरूको साथमा छ भन्ने कुरा यसले पुष्टि गर्छ ।”

मन्त्री कार्कीले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता नै अहिलेको समाजको आवश्यकता रहेको बताउँदै विश्वास आर्जित गर्न सक्ने पत्रकार जमातको अहिले आवश्यकता रहेको बताउनुुभयो । सो अवसरमा मन्त्री कार्कीले सूचना तथा प्रसारण विभागद्वारा प्रकाशित ‘नेपाल परिचय’, ‘पत्रकारिता विशेषाङ्क’ र ‘नेपालको सार्वजनिक प्रशासन र व्यवस्थापन’ भन्ने पुस्तकको लोकार्पणसमेत गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले यस वृत्ति वितरणको रकमलाई एउटा ‘टोकन’ र सम्मानका रूपमा लिनुपर्ने बताउँदै यसमा समयसापेक्ष वृद्धि हुँदै जाने बताउनुभयो ।

६५ वर्षभन्दा बढी उमेर भएको र कम्तीमा तीस वर्ष पत्रकारिता गरेको व्यक्तिले आवेदन दिन पाउने गरी सूचना तथा प्रशारण विभागले आवेदन माग गरेकोमा एघार जना पत्रकारले आवेदन दिनुभएको थियो । जसमध्ये तीन जनालाई छनोट गरी वृत्ति वितरण दिन सुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।