गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रीपरिषद्को चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी सदनमा शुक्रबार दिइएको थियो ।
चालु अधिवेशन चैत १९ गते प्रारम्भ भएको थियो । निर्वाचनपछिको पहिलो अधिवेशनका रूपमा प्रतिनिधि सभामा छ वटा बैठक बसेका थिए । केही विधायिकीसहित व्यवस्थापकीय कामकारबाही पहिलो अधिवेशनमा भएका छन् । पहिलो अधिवेशन नौ दिन चालु रहेको थियो । कुल १० घण्टा ५० मिनेट संसदीय कामकाज भएको थियो । प्रतिनिधि सभाले अधिवेशनबाट नियमावली संशोधन मसौदा समिति गठन गरेको छ । यस्तै सभाका सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरेको छ । साथै प्रतिनिधि सभाले मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन र नेपाल विशेष सेवासम्बन्धी तीन अध्यादेश स्वीकृत भएका छन् । अध्यादेश स्वीकृतसँगै प्रतिस्थापन विधेयकले ल्याउने प्रक्रियाका लागि बाटो खुलेको छ ।
यस्तै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विभिन्न मितिमा पारित भई विचाराधीन रहेका नेपाल विधिविज्ञान प्रयोगशाला, चलचित्र र पर्यटन विधेयकको सन्देश टेबुल भएको छ । तीन विधेयकको बाँकी प्रक्रिया भने बाँकी छन् । यस्तै वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएको छ । यस्तै सङ्घीय संसद्को संयुक्त र प्रतिनिधि सभाका १० विषयगत समिति गठन भएका छन् । नियमावली संशोधनको प्रक्रियाले पूर्णता नपाउँदै समिति गठन गरिएको हो । यसअघि नियमावली तर्जुमापछि मात्र समिति गठनको अभ्यास थियो । यस्तै सङ्घीय संसद्का संयुक्त समितिमा रहने सदस्यको नामावली पनि प्रतिनिधि सभाले स्वीकृत गरेको छ । चालु अधिवेशनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो ।
उपसभामुखमा रुवी निर्वाचित
प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सदस्य रुवी कुमारी निर्वाचित हुनुभएको छ । सभाको दुई तिहाइ मतसहित रुवी उपसभामुखमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष नवनिर्वाचित उपसभामुख रुवीकुमारीले शुक्रबारै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ । २६ वर्षीय उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले समेत उहाँलाई समर्थन गरेका थिए । निर्वाचित उपसभामुख रुवीले अब कार्यभार समाल्नुहुने छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत रहेकाले रुवीलाई निर्वाचित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको थियो । प्रतिनिधि सभाको तत्काल कायम सदस्य सङ्ख्या अनुसार उपसभामुखमा निर्वाचित हुन १३८ मत आवश्यक पर्छ । रुवीले २२९ मत पाउनुभएको हो । उपसभामुखका लागि दर्ता दुईमध्ये राप्रपा उम्मेदवार सरस्वती लामाको पहिलो प्रस्तावले बहुमत पाउन नसकेपछि रुवीको दोस्रो प्रस्तावमा मतदान भएको थियो । लामालाई निर्वाचित गरियोस् भन्ने पहिलो प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । लामाको प्रस्तावमा कुल मतदानमा सहभागी २५७ सांसद रहेका थिए । जसमा प्रस्तावको पक्षमा छ मत र विपक्षमा २१५ परेको थियो । यस्तै तटस्थ मत ३७ रहेको थियो । तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत नपुगेपछि दोस्रो प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो । दोस्रो प्रस्तावका रूपमा रुवी कुमारीको पक्षमा २२९ मत परेको थियो । उक्त प्रस्तावको मतदानका व्रmममा २५६ सदस्य उपस्थित थिए । रुवीको विपक्षमा छ र तटस्थ मत २२ परेको थियो ।