गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । लेखक तथा पत्रकार स्वर्गीय पदम श्रेष्ठको ४५ औँ पुण्यतिथिमा शुक्रबार राजधानीमा शोकसभा सम्पन्न गरिएको छ । नेपाली लोकबाजा सङ्ग्रहालयद्वारा आयोजित शोकसभामा द्वीप प्रज्वलनसहित स्वर्गीय श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
श्रेष्ठले पत्रकारितामा स्थानीय समाचारको खोजी, सम्पदा, संस्कृति, इतिहासलगायत क्षेत्रमा खोजी र प्रकाशन गर्नुभएको विषयमा वक्ताले चर्चा गर्नुभएको थियो । सङ्ग्रहायका अध्यक्ष रामप्रसाद कँडेलले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका कृतिको पुनः प्रकाशनसहित, स्वर्गीय पदमका सहकर्मीको लेखसहित स्मारिका प्रकाशन गरिनेसमेत जानकारी गराउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी तथा लेखकहरू दीपक श्रेष्ठ, कुमार रञ्जित, शम्भु श्रेष्ठ, शिवा तामाङ, रवीन्द्र तामाङ, प्रतीक तामाङ, दिनेश रेग्मी, बेखाराम बलामी, चिरीमाया महर्जन, भगवती तिमल्सिना, प्रणय पासा, अमृत योन्जनलगायतले पदम श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । पत्रकारिता तथा जाति, भाषा, संस्कृति, सम्पदा र पर्यटन सम्बन्धमा खोज अनुसन्धान र लेखनमा सक्रिय पदम श्रेष्ठको २०८२ फागुन १३ गते निधन भएको थियो ।