रामकृष्ण बोहरा
बागलुङ, चैत २८ गते । गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब शनिबार भीड्दै छन् । शुक्रबार बाङेचौर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै बागलुङ सुधार केन्द्र र गहते युवा क्लबले फाइनल भीडन्त पक्का गरेका हुन् ।
शुक्रबारको पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरीलाई २–१ गोलले पराजित गर्यो । खेलको १८ औं मिनेटमा पाएको फ्रि–किकलाई बागलुङ सुधार केन्द्रका बिसन गुरुङले सुन्दर गोलमा परिणत गर्नुभएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको २५ औं मिनेटमा सुधार केन्द्रका बरदान निउरेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभएको थियो । दुई गोल खाएपछि दबाबमा परेको प्रहरीले खेलको अतिरिक्त समयमा गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन । प्रहरीका दलबहादुर बुढाले ९५ औं मिनेटमा सान्त्वना गोल फर्काउनुभएको थियो ।
यस्तै दोस्रो सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गुठी युनाइटेडलाई २–१ गोलले निराश बनाउँदै गहते युवा क्लबले फाइनलको यात्रा तय गरेको हो । खेलमा गुठीले शुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा उपाधि होडबाट बाहिरिन पुग्यो । खेलको २६ औं मिनेटमा गुठीका निरञ्जन खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
विपक्षी खेलाडिमाथि खराब ट्याकल गरेपछि गुठीका गोलरक्षक दिप कार्की रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि गुठी दश खेलाडिमा सिमित बन्न पुगेको थियो । दश खेलाडिमा सिमित गुठीमाथि हाबी बन्दै गहतेका आशिष गुरुङले ९ औं मिनेट हेडमार्फत सुन्दर गोल गर्दै खेल बराबरीमा पुर्याउनुभएको थियो । दोस्रो हाफको २४ औं मिनेटमा गहतेका विक्की चाम्लिङ राइले गोल थप्दै टोलीको जित सुश्निचित गर्नुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२/१२ हजार रुपियाँ प्रदान गरिने छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद पाँच/पाँच हजार रुपियाँ र ट्रफी प्रदान गरिने जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष सुभम राजभण्डारीले जानकारी दिनुभयो । फाइनल खेल शनिबार दिउँसो १२ बजे हुँदैछ ।