• ३ साउन २०८१, बिहिबार

गाउँमा ढुङ्गा झर्न थालेपछि डरले घरमा सुत्दैनन् पोखरावासी

blog

सिस्ने गाउँपालिका ३ को पोखरा बस्ती । तस्बिर – राजु लामिछाने

राजु लामिछाने 

रुकुमपूर्व, साउन ९ गते । लगातार गाउँमा ढुङ्गा झर्न थालेपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका – ३ पोखराका सर्वसाधारणहरु त्रसित बनेका छन् । वर्षा सुरु भएसँगै गाउँ माथिको लेकबाट ढुङ्गा खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् । बस्तीमाथि रहेको झिम र तिमिले लेकबाट ठुल्ठूला ढुङ्गा गाउँमा झर्न थालेपछि वडाबासीको रातको निन्द्रा र दिनको भोक हराउन थालेको वडाध्यक्ष हेराम खड्काले बताउनुभयो ।

पोखराको बस्ती नै पहिरोको जोखिममा परेको उहाँले उल्लेख गर्नुभयो । पोखरा बस्तीको माथिल्लो क्षेत्रको जनता माध्यामिक विद्यालय पोखरा, स्वास्थ्य चौकी, वडा कार्यालय र सहकारी भवन झनै पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । 

पोखरा गाउँको माथिपट्टिको भाग जोखिममा रहेका स्थानीय भद्रबहादुर ओलीले बताउनुभयो । अहिले पोखराको माथिल्लो भेगका स्थानीयहरु राति घरमा नबसेर अन्यत्र बस्न थालेको उहाँले बताउनुभयो । 

वडाध्यक्ष खड्काका अनुसार अहिले पोखराका माथिल्लो क्षेत्रका मानिसहरु पहिरोको जोखिम कम भएको ठाउँ, आफन्त र छिमेकीको घरमा रात बिताउन जाने गरेका छन् । कतिपय भने दाङलेखको गोठमा गएर बस्न थालेको उहाँको भनाइ छ ।