• २ असार २०८१, आइतबार

सिन्धुपाल्चोक पहिरो पीडितलाई लालपुर्जा वितरण

blog

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ९ गते । सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सोमबार लालपूर्जा वितरण गरिएको छ । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपुर्जा वितरण कार्यक्रममा नेपाली काँग्रेरसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका १४ जना पहिरो पीडितलाई लालपुर्जा वितरण गर्नुभयो । 

वि.सं. २०७७ साल भदौमा भीषण पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख  बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । 

अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

उक्त नगरपालिकामा ९ वटा वडाका ५१ बस्तीका एक हजार ७४७ घरधुरीका आठ हजार ५० जना स्थानीय पहिरो पीडित छन् । भौगोर्भिक अध्ययन र प्राविधिक प्रतिवेदनअनुसार वडा नम्बर २ मा २ घर, वडा नं ३ मा १६ घर, वडा नं ५ मा २४ घर, वडा नं ७ का १५ घरका ५७ विस्थापितहरु मध्ये १४ घरधुरीलाई आवास निर्माण लागि सुरक्षित जग्गाको लालपुर्जा उपलब्ध गराएको हो ।

उक्त नगरमा १०४ घरधुरीमध्ये ५० घरधुरीको प्रथम किस्ता प्राप्त भएको छ । पीडित पुनर्बासका लागि जग्गा खरिद गर्न ३ लाख र घर निमार्णका लागि ५ लाख दिइएको छ । स्थानीय सरकारले १५ प्रतिशत, प्रदेशले ३० प्रतिशत र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ५५ प्रतिशत साझेदारीमा रकम उपलब्ध गराएको थियो ।

बाह्रबिसे नगरपालिका–७ का पूर्णबहादुर देउजा, तीर्थबहादुर भण्डारी, दलबहादुर देउजा, रुकुना ठकुरी, भोजबहादुर देउजा, पूर्णबहादुर भण्डारी, गणेशबहादुर देउजा, लक्ष्मी भण्डारी, हर्कबहादुर बिक, रामबहादुर कामी, बालकुमारी देउजा, टीकाबहादुर भण्डारी, नरबहादुर भण्डारी, सपना खत्री देउजाले लाजपूर्जा पाउनुभयो । 

‘सुरक्षित जग्गाको लालपुर्जा पाइयो अब आवास निर्माण गरी सुरक्षित रुपमा बस्न पाइने भयौँ’– लालपुर्जा प्राप्त गरेपछि सपना खत्री देउजाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सिन्धुपाल्चोकमा बाढी पहिरो र अन्य विपदबाट जोखिममा रहेका बस्ती, घरधुरी, जनसङ्ख्याको तथ्याङ्क सङ्कलन गर्नका लागि पालिका, प्रहरी र सम्बन्धित निकायलाई निर्देशन दिएकोमा तथ्याङ्क प्राप्त नभएको जानकारी दिनुभयो ।