• ३ साउन २०८१, बिहिबार

युवाको भाषा बुझ्न जरुरी छ : सभामुख सापकोटा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ९ गते । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिङ्गो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो । 

अहिले राष्ट्रमा काठमाडौं र धरानलगायतका स्थानमा युवाहरुको आवाजरुपी सङ्केतको रुप देखापरेको उहाँले बताउनुभयो । सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट सङ्केत देखापरे पनि साइरनरुपी यी सङ्केतको भाषा बुझ्न आवश्यक रहेको बताउनुभयो । 

पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोड रुपियाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउनुभयो । सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी कति विडमबवनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउने चीनबाट आयात गर्छौं ।’ खरानीसमेत नेपालमा आयात हुनेगरेको सुन्दा आफू अचम्मित भएको उहाँले बताउनुभयो । 

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको पनि बताउनुभयो । संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको उहाँले बताउनुभयो । नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको चर्चा गर्दै समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।  जलवायु परिवर्तनका अकल्पनीय घटना भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘वास्तवमा देशभर एक प्रकारको अन्तरविरोध मडारिन थालेका छन् । एकप्रकारको अराजकता भएकोजस्तो छ । दुनियाँमा अभिभावकको खाँचो भएको जस्तो छ । यी सबै परिवेशबाट अहिले नयाँ विश्व दृष्टिकोेणको आवश्यक्ता छ ।’ दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस हुन नसकेको उहाँको बुझाइ छ । 

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके ठूलो दुर्घटना हुने बताउनुभयो । नेपालले अहिले हरितक्रान्तितिर नै ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन जरुरी भएको बताउनुभयो ।