• १९ असार २०८१, बुधबार

वैवाहिक अङ्गीकृतमा सात वर्षे प्रावधान हटाउनुपर्ने कारण छैन : सांसद श्रेष्ठ

blog

फाइल तस्बिर

काठमाडौं, साउन ९ गते । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले वैवाहिक अङ्गीकृत नागरिकताको लागि सात वर्षे प्रावधान हटाउनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।

सोमबारको राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा भाग लिनुहुँदै सांसद श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरी नेपालमा बसोवास गरेमा कुनै प्रावधान राखेर नागरिकता दिनुपर्ने सांसद श्रेष्ठको भनाइ छ ।

त्यस्तै, उहाँले नागरिकतासम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको टिप्पणी गर्नुभयो । श्रेष्ठले राज्य व्यवस्था समितिमा छलफल गरेर बहुमतले पारित गरेको विधेयक सकारले फिर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

समितिले बहुमतले पारित गरेर पठाएको विधेयक फिर्ता गरेर अल्पमतको विचार लागू हुनेगरी विधेयक आएको उहाँको भनाइ छ । उहाँले यस्तो चलनले लोकतन्त्र र संसदीय मामिला कमजोर हुने उल्लेख गर्नुभयो ।