• ८ वैशाख २०८१, शनिबार

साहित्य लेखनले आनन्द दिन्छ : मानसाग्नि

blog

काठमाडौँ, साउन ९ गते ।  चिकित्सा, लेखन र प्राध्यापनमा व्यस्त कवि मानसाग्नि (डा. हरिप्रसाद पोखरेल) कक्षा ९ मा पढ्दा जोगी बन्छु भनेर भारततिर पस्नुभएको थियो। यसपछि बिस्तारै मानसाग्निले योग प्राकृतिक चिकित्सा आयुर्वेदजस्ता विषयहरूमा पढाइ सुरु गर्नुभयो। उहाँ अहिले यही क्षेत्रबाट सम्बन्धित भएर अगाडि बढिरहनुभएको छ। 

२०३६ सालबाट माघ १ गतेका दिनलाई विश्व योग दिवस मनाउने प्रचलनमा ल्याउने काम डा. मानसाग्निले नै गर्नुभएको थियो। जसलाई अहिले नेपालमा राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ भने विश्वमा अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने चलन छ। यस्तो हुँदाहुँदै उहाँको प्राकृतिक चिकित्सामा प्रवेश भएको हो। उहाँ चिकित्सा मात्र नभएर कवि तथा साहित्यकारका रूपमा पनि चिनिन थाल्नुभयो। 

चार/पाँच कक्षा पढ्दादेखि नै वादविवाद, निबन्ध, चित्रकलाजस्ता प्रतियोगितामा आफू सधैँ प्रथम हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “पछि मेरो चित्रकला विस्तारै छुट्यो तर लेखनकला भने छुटेन। बोल्ने र लेख्ने कलाले निरन्तरता पाइरह्यो।” 

मानसाग्निको लेखन तीन/चारवटा कुरामा केन्द्रकृत हुन्छ। कविता लेखन, ललित निबन्ध, स्वास्थ्यको लेखन र दर्शन। उहाँका साना ठूला गरेर अहिले ४२ वटा किताब प्रकाशित पनि भइसकेका छन्। यसमध्ये अहिलेसम्म कविता र साहित्यका पुस्तकहरू गरी आठ/नौँवटाभन्दा बढी भइसकेका छन्। जसमा लघु कविता, हाइकु र लामा कविताहरू रहेका छन्। 

गीत–सङ्गीतको बारेमा उहाँ भन्नुहुन्छ, मैले गीत भनेर खासै धेरै लेखेको छैन तर बालगीत भनेर बच्चाहरूका लागि लेखेको छु। उहाँको गीतमाला सङ्ग्रह नै प्रकाशित छ । गीतमाला सङ्ग्रहभित्र मान्छेको जीवनशैली उसले अपनाउनुपर्ने जीवनपद्धतिहरू र उसले आफूलाई चिन्नुपर्ने र यो सारा जगत्लाई चिन्नुपर्ने कुराहरूमा नै बढी केन्द्रकृत छ। 

मानसाग्निको कविता लेख्ने भने निश्चित समय छैन। जब मनभित्र भाव आउँछ त्यसपछि उहाँ कुनै पनि समय कविता लेख्न बस्नुहुन्छ। कहिले दिनभरमा दसदेखि पन्ध्रवटा जति कविता पनि उहाँले लेख्नुभएको छ भने कहिलेकाहीँ तीन/चार महिनासम्म पनि उहाँलाई केही फुर्दैन। उहाँ स्वास्थ्य साहित्यहरू भने सजिलै लेख्नुहुन्छ। त्यसमा उहाँलाई सूचनाले बढी काम दिन्छ।

लेखनमा पनि सुरुवाती दिनमा कसैको पनि त्यस्तो विशेष भनेको होइन तर स्कुलमा शिक्षकहरूले निबन्ध लेख भन्ने कुरालाई चाहिँ प्रेरणाको रूपमा लिन सकिन्छ तर पनि अत्यधिक कुरा अन्तरप्रेरणा नै भएको उहाँले बताउनुभयो। मैले लेखेको यही कविता मलाई मन पर्छ भन्ने त छैन तर त्यो बेलाको त्यही सर्वोत्कृष्ट हुँदोरहेछ। मानसाग्निका कविताहरू मुख्य रूपमा एउटा मान्छेको समुन्नत विकास कसरी गर्नसकिन्छ, एउटा मान्छेभित्रको अन्तरचेतना के हो या अति मानवीय चेतना के हो र त्यो स्थलबाट मान्छेले कसरी आफूलाई र जगत्लाई बुझ्न सक्छ भन्ने कुराले बढी प्रेरित हुन्छ। मानसाग्निका कविताहरूमा सबैभन्दा अगाडि आउने विषयवस्तु भनेको सत्वबोध हो। अर्को जीवनशैलीका सानातिना कुराहरू पनि उहाँका कविताहरूमा पाइन्छ। 

संसारमा पाउनका लागि गरिने जति पनि कार्यहरू छन् तीनले सुविधा दिँदा रहेछन् आनन्द दिँदा रहेनछन् भने केही पाउने आश नगरी गरिने कामहरूले भने आनन्द दिँदा रहेछन् तर सुविधा दिँदा रहेनछन्। त्यसकारणले कविता, निबन्ध र समग्र साहित्य लेखनले आफूलाई आनन्द दिने मानसाग्नि बताउनुहुन्छ।