• १८ चैत २०८२, बुधबार

कोशी प्रदेशमा पोल्ट्री व्यवसाय सङ्कटमा

blog

विराटनगर–१२ मा ग्राहकको पर्खाइमा रहेको मासु पसल । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, चैत १८ गते । कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु सङ्क्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी र झापामा सङ्क्रमण पुष्टि भएपछि कुखुराको उत्पादन र बिक्री दुवै ह्वात्तै घटेको छ, जसले गर्दा अर्बौंको लगानी गरेका किसान र व्यवसायी गम्भीर आर्थिक सङ्कटमा परेका छन् ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी महाशाखाको तथ्याङ्क अनुसार चैत ३ गतेदेखि सुरु भएको सङ्क्रमण हालसम्म तीन जिल्लाका १६ वटा व्यावसायिक फार्ममा फैलिसकेको छ । महाशाखा प्रमुख दीपा दिवालीका अनुसार चैत १२ गतेसम्म मोरङमा छ, सुनसरीमा आठ र झापामा दुई वटा फार्मका ६६ हजार ३२ वटा कुखुरा नष्ट गरिएको छ । जसमा ६४ हजार ८९७ लेयर्स र एक हजार १३५ वटा ब्रोइलर कुखुरा रहेका छन् ।

सङ्क्रमणका कारण बजारमा कुखुराको मासुको माग ह्वात्तै घटेको छ । विराटनगर–११ पिचरास्थित ‘न्यु क्वालिटी फ्रेस हाउस’ का सञ्चालक सन्तोष भुजेलले बर्डफ्लुको हल्लाले व्यापार ठप्प प्रायः भएको बताउनुभयो । “केही साताअघिसम्म दैनिक ८० किलोसम्म मासु बिक्री हुन्थ्यो, अहिले दिनभरिमा पाँच किलो बेच्न पनि धौ धौ छ,” भुजेलले भन्नुभयो, “पसलको भाडा उठाउनसमेत नसक्ने अवस्था छ ।”

यतिबेला अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ तर कुखुराको मासुको भाउ बजारमा घटिरहेको छ । उत्पादन घट्दा मूल्य बढ्ने अर्थशास्त्रको सिद्धान्तले यो क्षेत्रमा काम गरिरहेको छैन । उपभोक्तामा फैलिएको त्रासका कारण बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ३६० रुपियाँमा झरेको छ तर बजारमा खरिदकर्ता न्यून छन् । धेरै जसो उपभोक्ताले कुखुराको विकल्पमा खसीको मासु वा शाकाहारी परिकार रोज्न थालेका छन् । 

उत्पादनतर्फ पनि किसानको अवस्था खस्किँदै गएको छ । लेयर्स कुखुरापालक सङ्घ मोरङ–सुनसरीका अध्यक्ष होम बाँस्कोटाका अनुसार बजारमा कुखुराको मासुको माग ५० प्रतिशतले गिरावट आएको छ । बाँस्कोटा भन्न्नुहुन्छ, “मोरङ र सुनसरीमा मात्रै ७४ वटा ठुला लेयर्स फार्म छन् । एकातिर कुखुरा नष्ट भइरहेका छन् भने अर्कोतिर उत्पादन भएको मासुले बजार पाएको छैन । ऋण लिएर व्यवसाय गरेका किसान सडकमा पुग्ने अवस्था सिर्जना भएको छ ।”

बर्डफ्लु नियन्त्रणका लागि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी सङ्क्रमित क्षेत्रका कुखुरा नष्ट गर्ने र जैविक सुरक्षामा कडाइ गर्ने कार्य जारी राखेको छ । यद्यपि सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले पोल्ट्री क्षेत्रको नोक्सानी अझै बढ्ने देखिएको छ । विराटनगरका अधिकांश फ्रेस हाउस अहिले ग्राहक पर्खेर बस्नुपर्ने अवस्थामा छन्, जसले समग्र प्रदेशकै मासुजन्य अर्थतन्त्रमा नकारात्मक असर पारेको छ ।