• १७ चैत २०८२, मङ्गलबार

विवादित क्षेत्रमा सडक निर्माण सुरु

blog

विवादका कारण निर्माण रोकिएको सिन्धुलीको धुराबजार क्षेत्रको सडक ।तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत १७ गते । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा मुआब्जा र जग्गा विवादका कारण रोकिएको सडक निर्माण पुनः सुरु भएको छ । मापदण्डको विषयलाई लिएर स्थानीय र आयोजनाबिच विवाद भई झन्डै एक दशक (सुरु) देखि निर्माण रोकिएको सदरमुकाम क्षेत्रको धुराबजारदेखि ज्यामिरेसम्म विभिन्न छ ठाउँमा गरी करिब एक किलोमिटर सडक निर्माण पुनः सुरु भएको हो ।

विवादकै कारण सुरुदेखि नै उक्त राजमार्गको मकवानपुर क्षेत्रमा दुई ठाउँ र सिन्धुली अन्तर्गत कमलामाई नगरपालिकामा छ ठाउँमा सडक निर्माण रोकिएको थियो । कमलामाई नगरपालिका अन्तर्गत धुराबजारको मुखमा ३९० मिटर, ढकालगाउँमा १४५ मिटर, कोलपाखा ३३ मिटर, साङ्बाले ११४ मिटर, खट्टार २८२ मिटर र ज्यामिरे ७१ मिटर लम्बाइ सडक निर्माण रोकिएको थियो । अहिले यिनै ठाउँमा ठेक्का लगाई निर्माण पुनः सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रदेश सांसद छेत्रबहादुर बमजन, निवर्तमान सांसद लेखनाथ दाहाललगायत सरोकारवाला निकायको पहलमा सडकको दाया“बाया“ एक–एक मिटरको नालासहित ११ मिटर क्षेत्रभित्र सडक निर्माण गर्ने आयोजना र स्थानीयबिच सहमति जुटाई उक्त सडक निर्माण सुरु भएको हो ।

मदन भण्डारी राजमार्ग आयोजना पश्चिम खण्डका इन्जिनियर तथा सूचना यादव सुवेदीले विवाद भएको ठाउँमा सडक निर्माणका लागि यो वर्ष सङ्घीय सरकारले पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएकोमा सिन्धुली बिल्डर्सले चार करोड ५३ लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । सो निर्माण कम्पनीले आगामी असार २५ गतेसम्म निर्माण पूरा गर्ने दाबी गरेको छ । स्थानीय विवाद आएमा कमलामाई नगरपालिकाले समाधान गर्ने गरी सिफारिस लिएर काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणका क्रममा कुनै विवाद आएमा हामी समाधान गर्छौं भनेर कमलामाई नगरपालिकाका मेयर साप र सम्बन्धित वडाध्यक्षले भन्नुभएको छ । सोही अनुसार नगरपालिकाबाट सिफारिस लिएका छौँ ।”

सो सडक निर्माण रोकिएको धुराबजारका बासिन्दा हरिशरण श्रेष्ठ भने आफू बस्दै आएको घर सो सडक निर्माणमा पर्ने र घरको मुआब्जा हालसम्म नपाएकाले नभत्काउने बताउनुहुन्छ । चलनचल्तीको मूल्य अनुसार उचित मुआब्जा पाउनु प¥यो, सिङ्गो घर नै भत्काइदिन्छु । नत्र आफू सुकुमवासी हुने गरी घरको काँटी पनि उखेल्दिनँ । सडक निर्माणको काम सुरु गर्न लागेको, घर भत्काई सहयोग गर्नु प¥यो भनेर केही दिनअघि वडाध्यक्ष र ठेकेदार आफ्नो घरमा आएको उहाँले सुनाउनुभयो । निर्माण व्यवसायी (सिन्धुली बिल्डर्स) दिलबहादुर बमजनले खट्टारबाट यसै सातादेखि काम सुरु गरेको जानकारी दिनुभयो । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौगडासम्म कुल २५० किलोमिटर लामो उक्त राजमार्गलाई दुई खण्डमा विभाजन गरी २०७३ सालदेखि निर्माण सुरु गरिएको थियो । विवाद भएका केही ठाउँबाहेक अन्य सबै ठाउँमा सडक निर्माण सम्पन्न भइसकेको छ । 

राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौगडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बसाहादेखि चौगडासम्म विभिन्न खोलानालामा गरी ९६ वटा पक्की पुल रहेकोमा ९५ वटा पुल सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । पश्चिम खण्डमा नै पर्ने सिन्धुलीकै सदरमुकाम सिन्धुलीमाढीस्थित ग्वाङखोला पुल विवादका कारण लाइन दिन नसक्दा निर्माण अघि बढ्न सकेको छैन ।