• १२ वैशाख २०८१, बुधबार

पहिरोका कारण अन्धकार

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, साउन ८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युत्को खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा (पोल) ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिब १२ बजेपछि पहिरो गएको थियो । उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँकाअनुसार फुरुम्बुको साविक वडा १, २, ३ र ४ मयाम क्षेत्रका करिब तीन सय परिवार विद्युत् उपभोग गर्नबाट बञ्चित भएका छन् । यस्तै सडक क्षेत्रमै पहिरोले ढालेको विद्युत्को खम्बा र तारका कारण जोखिम पनि बढेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । विद्युत्को खम्बा ढालेर क्षति पुगेको अवस्थाबारे शनिबार बिहानै नेपाल विद्युत् प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । 

यता नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले फुरुम्बुमा पहिरोले क्षति पु-याएको संरचनाको मर्मत–सम्भारका लागि आइतबार मात्र प्राविधिकसहितको टोली जाने जनाएको छ । जिल्लाको अन्य क्षेत्रमा पनि विद्युत्को खम्बा र तारसहित प्रसारण लाइनमा क्षति पुगेकाले उक्त ठाउँहरूमा शनिबार मर्मत गरिएको वितरण केन्द्रले जानकारी दिएको छ ।