• १३ साउन २०८१, आइतबार

एमालेमा अवसरवादी प्रवृत्ति मौलायो : महासचिव पोखरेल

blog

सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंखर पोखरेल । तस्विरः नविन शाही

नविन शाही

सुर्खेत, साउन ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीभित्र अवसरवादी प्रवृत्ति मौलाउँदैगएको बताउनुभएको छ । सुर्खेतमा आयोजित पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीभित्रका नेता कार्यकर्ताहरुको आचरण बिग्रिन थालेको बताउनुभएको हो । 

‘हाम्रा नेता कार्यकर्ताको बानी बिग्रेको छ । टिकट पाए जिताउँछु भन्नुपर्ने ठाउँमा म भए ठिक, नभए बेठीक भन्ने प्रवृत्ति देखा प¥यो’ स्थानीय तह निर्वाचनको समीक्षा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘यो कम्युनिष्ट आचरण होइन । एमालेमा पनि अवसरवादी प्रवृत्ति मौलाउनु गलत हो ।’

एमाले कार्यकर्तामा तीन प्रकारको प्रवृत्ति हावी हुँदैगएको उहाँको भनाइ छ । ‘टिकट नपाएर चित्त दुखे घरै बस्ने, प्रचार गर्न सँगसँगै हिँड्ने तर जिताउन गाह्रो छ भन्ने र उसलाई (टिकट पाएको उम्मेदवार) जित्न दिंदैन भन्ने तयारी गर्ने’ उहाँले भन्नुभयो, ‘यसखालको प्रवृत्तिले एमालेको दुई तीन प्रतिशत भोट बिग्रिएको छ ।’ यी प्रवृत्तिलाई त्याग्न सके जुनसुकै गठबन्धनलाई पनि एमालेले परास्त गर्ने उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन नपाएकाले कर्णालीका जनताले सङ्घीयताको फाइदा लिन नसकेको बताउनुभयो । ‘एमालेले कर्णालीको सरकारको नेतृत्व गर्न पाएको भए यहाँको रूपरंग फेरिन्थ्यो,’ उहाँले थप्नुभयो, ‘कर्णाली पछाडि पर्नुमा एमाले जिम्मेवार होइन । अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्नेगरी लाग्न म यहाँका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दछु ।’