• १२ साउन २०८१, शनिबार

हत्या भएकाे ४८ दिनपछि गाडेकाे स्थानबाट शव, श्रीमानसहित तीन जना पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, साउन ७ गते । सर्लाहीको पर्सा गाउँपालिकामा ४८ दिनदेखि बेपत्ता एक महिलाको हत्या गरी खेतमा गाडेको अवस्थामा शव फेला परेको छ । जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि उहाँको शव फेला परेको हो । हत्यापछि आफ्नै खेतमा गाडेको अवस्थामा निशाको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 

प्रहरीले निशाको हत्यामा संलग्न रहेको आरोपमा उहाँकै श्रीमान बालदत्त भनिने रमजेशकुमार यादव, ससुरा रामप्रताप यादव र देवर राजु यादवलाई पक्राउ गरेको छ । उनीहरुले अपराध स्वीकार गरिसकेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी प्रमुख प्रवीण पोखरेलसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खनेर हेर्दा सडिसकेको अवस्थामा निशाको शव फेला पारेको हो । निशाको हत्याका सम्वन्धमा अनुसन्धान जारी नै रहेको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो । 

दाइजो कम ल्याएको निहुँमा निशाको हत्या भएको आशङ्का गरे पनि प्रहरीले भने यस विषयमा प्रष्ट हुन बाँकी नै रहेको जनाएको छ । दुई दिनअघि पक्राउ परेका निशाका श्रीमान, ससुरा र देवरले अपराध स्वीकार गर्दै उनीहरुले नै घटनास्थल देखाएकाे प्रहरीले जनाएको छ । 

–हत्यामा संलग्न रहेको आरोप लागेका श्रीमान, ससुरा रामप्रताप यादव र देवर 

छिमेकी जिल्ला महोत्तरीको सोनमा गाउँपालिका–१, मगरथाना निवासी कैलाश यादवकी छोरी निशाको डेढ वर्षअघि रमजेशकुमारसँग मागी विवाह भएको थियो । त्यसबेला केटाकेटी र दुवै परिवारबीच राजीखुसीमा नै विवाह भएको थियो । 

गएको जेठ २१ गते श्रीमानसँग विवाद भएपछि निशाले भोलीपल्ट जेठ २२ गते माइती पक्षलाई खबर गर्नुभयो । त्यसपछि निशाका बुवा कैलाश यादव सोही दिन छोरीलाई भेटेर साँझ घर फर्किनुभएको थियो । 

बुवा फर्किएकै दिन जेठ २२ गते राती श्रीमानसहित परिवारका सदस्य मिलेर निशाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिन्छ । हत्यापछि घरबाट झण्डै चारकिलोमिटर टाढा रहेको आफ्नै खेतमा लगेर छ फिट गहिरो खाल्डो खनी निशाको शव त्यहीँ पुरिएको अवस्थामा भेटिएको हो । 

निशाको शव पुरिएको स्थानमा उनीहरुले धान रोपेका थिए । जुन धानबाली अहिले हरियो भइसकेको छ । 

–मृतक निशा

निशाको शव, उहाँले लगाएको साडीसहित बोरा, पराल जलेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो । निशाको हत्यापछि परिवारका सदस्यले निशा घरबाटै हराएको भन्दै माइती पक्षलाई खबर गरेका थिए । 

भोलिपल्ट बिहान जेठ २३ गते छोरी खोज्दै पुग्नुभएका कैलाश यादवले छोरी नभेटेपछि त्यसै दिन जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुगेर निवेदन दिनुभयो । त्यसको भोलिपल्ट जेठ २४ गते निशाका ससुरा रामप्रताप रायले पनि बुहारी निशा हराएको भन्दै उहाँको खोजीगरी पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमै पुगेर निवेदन दिनुभएको थियो । 

दुवै निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा निशा बेपत्ता भएको नभएर हत्या भएको निष्कर्षमा पुगिएको र त्यसमा परिवारकै सदस्यहरुको संलग्नता पुष्टि भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले गोरखापत्रसँग बताउनुभयो । घटनाको सुरुदेखि नै निशाका श्रीमानसहित परिवारका सदस्यहरुलाई निगरानीमा राखेर पटक–पटक कार्यालयमा बोलाएर प्रहरीद्वारा सोधपुछ गरिएकाे थियाे ।