• ८ जेठ २०८१, मङ्गलबार

बेलहिया नाकाको निरीक्षण

blog

सीमानाका बेलहियाको निरीक्षण गर्दै नगरप्रमुख र सुरक्षा अधिकारीको टोली । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, साउन ७ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानसहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थित गर्न र कोभिड सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् । 

नगरप्रमुखसहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादवलगायतले बेलहिया नाकाको निरीक्षण गर्नुभएको हो ।

कोभिड सङ्क्रमणको दर निरन्तर उकालो लागिरहेको बेला सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजेन, पीसीआर परीक्षण, व्यवस्थित होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टाइन लगायतको आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

त्यस्तै, पैदलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकालाई ब्यवस्थित गरी सुन्दरीकरणका लागि समेत आग्रह गरिएको थियो । “नाकाको अवस्थाले मुलुकको अवस्था नै दर्शाउने भएकाले बेलहियालाई सुन्दरीकरण गर्न आवश्यक छ” सिद्धार्थनगर नगरपालिकाका प्रमुख अहमद खानले भन्नुभयो, “जसका लागि नाकामा रहेको पार्किङ, बसपार्क, शौचालय, सडक, यत्रतत्र छरिएका व्यवसायलगायतको व्यवस्थापन गरिनेछ ।” 

त्यस्तै, सवारी साधनसहित भ्रमणका लागि आउने भारतीय पर्यटकलाई भन्सारका लागि भन्सार कार्यालयमा सास्ती खेप्नुपर्ने भएकाले सहजताका लागि भन्सार कार्यालय काउन्टर थप गरिने उहाँले बताउनुभयो । सवारी साधनको सहज सुविधाले मात्रै त्यस्ता पर्यटकले दुःख नपाउने उहाँले बताउनुभयो ।

“मुलुकमा पैसा खर्च गर्न पर्यटकहरु आउँछन्, गाडीको सुविधा भन्सारका लागि उनीहरुलाई सास्ती खेप्नुपरेको गुनासो आएको छ” उहाँले भन्नुभयोे, “पर्यटकलाई हामीले स्वागत गर्नुपर्नेमा सास्ती दिइरहेका छौँ, त्यसैले भन्सारमा काउन्टर थपका लागि आग्रह गरेका छौँ ।” हाल भन्सार कार्यालयमा गाडीको सुविधा भन्सारका लागि दुई वटा काउन्टर रहेकोमा संख्या बढाएर पाँच पु¥याउन आग्रह गरिएको छ ।

कोभिडको बढ्दो संक्रमणलाई हेरेर सीमाको व्यवस्थापन चुस्त बनाइने नगर प्रमुख खानले बताउनुभयो । उहाँले अहिले तेस्रो मुुलुकबाट आउने पर्यटकहरु न्यून रहेको हुँदा भारतीय पर्यटक र भारतबाट काम गरी फर्किने नेपालीलाई लक्षित गरी चेकजाँचलाई तीव्र बनाउने बताउनुभयो ।