• ८ जेठ २०८१, मङ्गलबार

कुखुराको अवैध आयातका कारण स्थानीय व्यवसाय सङ्कटमा

blog

भारतबाट अवैध रुपमा ल्याउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको कुखुरा । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, साउन ७ गते । बाँकेका कुखुरा व्यवसायीले भारतबाट भइरहेको कुखुरा र चल्लाको अवैध आयात रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । 

भारतबाट अवैधरुपमा कुखुराको आयात निरन्तर जारी रहेकाले नेपाली किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै कुखुरापालक व्यवसायीले जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अवैध आयात रोक्न गुहारेका हुन् । 

भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा सस्तोमा पाइने भएपछि विक्रेताहरुले नेपाली किसानका कुखुरा किन्न छोडेपछि सो रोक्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव प्रदीप कँडेलले बताउनुभयो । 

पछिल्लो दुई सातायता नेपाली किसानका कुखुराहरु विक्री नभएको गुनासो गर्दै सचिव कँडेलले कुखुरा विक्री नहुँदा मर्न थालेको र दानाको लागत पनि खेर गइरहेको बताउनुभयो । 

बाँकेको नरैनापुर र खजुराको सैनिक तथा परसपुर र जमुनाहाबाटै धेरैजसो कुखुरा तस्करी हुने गरेको कुखुरापालक नेपाली किसानको गुनासो छ । 

भारतबाट आउने कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रिने खतरा रहेको र नेपालमै मागलाई धान्ने गरी पञ्क्षीजन्य उत्पादन भइरहेकाले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाए पनि कुखुराको अवैध आयात भने निरन्तर जारी छ । 

अवैध आयात नरोकेमा नेपाली किसान र व्यवसायीको करोडौं लगानी डुब्ने र व्यवसाय नै धरापमा पर्ने जनाउँदै तत्काल सो रोक्न माग गर्दै नेपाल पोल्ट्री व्यवसायी सङ्घ, बाँकेले प्रमुख जिल्ला अधिकारीलाई एक मागपत्र पनि बुझाएको छ । 

सो मागपत्रमा प्रहरी प्रशासनले कुखुराको अवैध आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको जानकारी गराइएको नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेले जनाएको छ । 

सो बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीसँग जानकारी माग्दा उहाँले व्यवसायीले ध्यानाकर्षण गराएको जनाउँदै अवैध आयात रोक्न कडाई गर्न प्रहरीलाई ताकेता गरिसकिएको बताउनुभयो । उहाँले भारतबाट अवैध रुपमा ल्याउने कुखुरालाई ल्याउन नदिन थप कडाइ गरिने पनि बताउनुभयो । 

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नाकामा रहेको प्रहरी र गस्तीमा जाने प्रहरीलाई कडाई गर्ने निर्देशन दिएकाले नै पटक पटक अवैध रुपमा भित्र्याउन खोज्दा प्रहरीले नियन्त्रणमा लिने गरेको बताउनुभयो । उहाँले प्रहरी अवैध आयात रोक्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।