• ३ साउन २०८१, बिहिबार

शहीदकाे अवमूल्यन गर्न नहुने नेकपा एमाले अध्यक्ष ओलीकाे विचार

blog

तस्विर– रासस

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने बताउनुभएको छ ।

शनिबार यहाँस्थित कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा (एमाले) रहेको दाबी गर्नुभएको हो ।

उहाँले  पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गर्नुभयो । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकाले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आज देशको सबैभन्दा सचेत, सङ्गठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति र सबभन्दा सबल शक्तिको रुपमा, सबभन्दा बलियो शक्तिको रुपमा पुष्पलाले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ । म यस पार्टीको अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन । नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने, फेरि आज संकल्प दोहा¥याएको छु ।’

भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उहाँले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताउनुहुँदै भन्नुभयो, काँग्रेस धेरै पटक सत्तामा आयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो । भीमदत्त पन्तलाई काँग्रेसका सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ । दुर्गानन्द झा, काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । ...जेलमा राखेर फाँसी दिइयो तर कहिल्यै शहीद घोषणा गरिएन । नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएको थियो काँग्रेसले त्यो कुरा गरेन ।’

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लाग्नुभएको दाबी गर्नुभयो । ४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।