• ३० वैशाख २०८१, आइतबार

एक दृश्यले जसलाई बनायो दर्जनौँकी आमा

blog

मान्छेको भूमिका बदलिन धेरै ठूलो घटना हुनु पर्दैन। बाटो फेरिन निकै ठूलो घुम्ती चाहिँदैन र लामो कालखण्ड आवश्यक पनि हुँदैन। जिम्मेवारी र जीवन मोडिन त एक दृश्य नै काफी हुन्छ। 

बेलायती नागरिक लिसा ह्वाइटहाउस फोस्केटको जीवनमा पनि त्यस्तै भयो। उनको भूमिका बदलिनुमा पनि कुनै ठूलो घटना भएको होइन। सानो दृश्य, बस एक सानो दृश्यले उनको मन फेरियो। त्यही दृश्यको रापले उनलाई  जिम्मेवारीको ठूलो भारी बोक्ने प्रेरणा मिल्यो र उनले नयाँ भूमिकामा जीवन समर्पित गर्ने प्रण गरिन्। धेरैलाई अपनत्व मात्र होइन, ममतामयी अभिभावकत्व दिन उनी दृढ बनिन्। 

“मेरो जीवनमा एउटा कुरा चमत्कार जस्तै छ,” लिसाले भनिन्, “खै किन हो किन म सानैदेखि नेपाल र तिब्बत घुम्न चाहन्थेँ। मेरो मनमा कताकताबाट नेपाल र तिब्बत घुम्ने हुटहुटी थियो।”

उनले सुनाइन्– यो मेरो भित्रैदेखिको चाहना बारे कैयौँपटक मैले सपना देखेकी थिएँ।  

सोचेको भगवान्ले पनि पु-याउँछन् भनेजस्तै भयो लिसाको जीवनमा पनि। 

लिसाको नेपाल आगमन

कुरा आजभन्दा १७ वर्षअघि अर्थात् सन २००४ तिरको हो। लिसा पहिलो पटक नेपाल भ्रमणमा आइन्। नेपाल आउने साइत भने गोर्खा रेजिमेन्टमा जागिरे नेपाली साथीले जुराइदिए। उनले इङ्ल्यान्डकी युवतीसँग विवाह गरे। त्यही क्रममा लिसा र उनीहरूबीच गहिरो मित्रता भयो। सन २००३ मा भेटिएका तथा गोर्खा रेजिमेन्टमा कार्यरत उनले लिसालाई नेपाल घुमाइदिने कुरा गरे।

“मेरो त सपना साकार हुनेभयो,” उनले नेपाल आएको प्रसङ्गबारे सुनाइन्, “उनले साँच्चै मलाई नेपाल पठाइदिए। यहाँ उनैका आफन्तले एयरपोर्टमा रिसिभ गरे। आतिथ्य सत्कार पनि।” 

बेलायतको बाथ भन्ने नगरमा जन्मिएकी लिसा पेसाले अर्थोपेडिक सर्जन हुन्। उनी अर्थोपेडिक र स्ट्रक्चरलसम्बन्धी समस्यामा माइनर सर्जरी गर्छिन्। स्वास्थ्य क्षेत्रमा संलग्न भए पनि उनको मन कविको जस्तै कोमल लाग्छ, अनि भावुक पनि।  

पहिलो पटक नेपाल टेकेकी लिसाको चाहना सोलुखुम्बु जाने थियो तर तत्कालीन अवस्थामा माओवादी द्वन्द्वका कारण उनी त्यहाँ जान पाइनन्। उनले आफ्नो यात्रा मोडिन्। अन्नपूर्ण क्षेत्रको ट्रेकिङका लागि काठमाडौँबाट निस्किन्। त्यहाँबाट लमजुङ र मनाङ पुगिन्। 

“फर्किएर लमजुङ पुगेकी थिएँ। त्यहाँको एउटा गाउँमा एक १३ वर्षीय किशोरले दौड्दै आएर मेरो हात समात्यो।” उनले सम्झिइन्  “उसको स्पर्श निकै मायालु थियो। पर्फेक्ट अङ्ग्रेजीमा कुरा ग-यो।”  

ती किशोरलाई लिसाले सोधिन् “के गर्न मन छ ?”

उनले भने, “मलाई काठमाडौँ गएर पढ्न मन छ। धेरै पढेर गाउँमै फर्किएर शिक्षक बन्न मन छ।” तर लिसासँग त्यसबेला कुनै योजना थिएन तर ती किशोरको नैसर्गिक चाहनाले उनको मनमा छोयो। नेपालको शिक्षामा सहयोग गर्नुपर्छ भन्ने कुराले मन ढक्ढक्यायो। 

मनाङबाट फर्र्किएपछि लिसा तिब्बतको ल्हासा भ्रमणमा गइन्। पाँच दिन लगाएर उनी ल्हासाको गायान्सी पुगिन्। 

“त्यहाँ सिँढी नै सिँढी छन्। त्यहाँ हरेक सिँढीमा माग्नेहरू बसेको देखेँ।” उनले सम्झिन् “एउटा दृश्य यस्तो थियो, जसले मेरो मुटु हल्लाइदियो। एक पाँच÷छ वर्षको बालक पनि माग्न बसेका थिए। उनको काखमा सानी बहिनी पनि थिइन्। ती बालक रुँदै मागिरहेका थिए। सानी बहिनी अबोध हेरिरहेकी थिइन्।” 

लमजुङको किशोरसँगको घटनापछि यो दृश्यले उनलाई केही गर्न प्रेरणा मात्रै दिएन उनको भूमिका फेरिने कारण बन्यो। बाटो मोडिने आधार तयार भयो। 

“त्यसपछि त मैले केही गर्नुपर्छ भन्ने मनैबाट आयो तर तिब्बतमा काम गर्ने मलाई अधिकार थिएन तर नेपालमा पनि अवस्था त्यस्तै थियो,” उनले भनिन्, “अनि मैले सकेको सामाजिक काम गर्न नेपाल रोजेँ।”

जन्मियो फाउन्डेसन

लमजुङमा किशोरले गरेको वार्तालाप र ल्हासाको गायान्सीमा देखेको दृश्य आँखाभरी सजाएर लिसा थाइल्यान्ड गइन् । ती दृश्यले उनको मन जति भारी भएको थियो उत्ति नै केही गर्नुपर्छ भन्ने दबाबले उनको मन विचलित भइरह्यो। 

“गायान्सीको दृश्य देखेपछि र लमजुङमा किशोरलाई भेटेपछि म च्यारिटी फन्डका लागि थाइल्यान्ड गएँ। फन्ड जम्मा गर्न म्याराथन दौडिएँ,” उनले सुनाइन्।

मनमा अङ्कुरित भएको मानवीय र ममताको बीउ रोप्न उनले लन्डनमा अभियान सुरु गरिन्। त्यसपछि उनले काठमाडौँको नयाँपाटीकी आसाल श्रेष्ठलाई छोरीका रूपमा अभिभावकत्व लिन  सुरु गरिन्। आसाल त उनको सुरुवात मात्रै थियो। लमजुङ र गायान्सीमा देखिएका बालबालिकाका कारण मनमा परेको चोट शान्त पार्ने त्यो पहिलो कदम थियो। आसाल यतिबेला हिमशृङ्खला विद्यालयमा कक्षा १० मा पढ्ने भइसकिन्। दुर्घटनामा बुवा गुमाएकी आसालकी आमा साइप्रसमा भए पनि उनलाई लिसाले पढाइलेखाइमा कुनै कमी हुन दिइनन्। 

यो एकल प्रयासलाई सन २००९ मा लिसाले संस्थागत रूप दिने जमर्को गरिन्। अनि जन्मियो नेपाली बालबालिकाको शिक्षाका लागि च्यारिटेबल फाउन्डेसन। यो संस्था दर्ता गर्दा उनले भोगेको दुःखको कथा अर्कै छ। बेलायतमा दर्ता भएको यो संस्था नेपाली बालबालिकाको शिक्षाका लागि समर्पित छ।  

त्यसपछि उनले त्यहाँ विभिन्न सामाजिक अभियान चलाइन्, च्यारिटी गरिन्, म्याराथन दौड आयोजना गरिन् र केही रकम जम्मा गरिन्। 

“त्यसपछि मैले त्यो संस्थामार्फत स्कुल नै स्थापना गरेर सोलुखुम्बुमा ६० जना विद्यार्थी पढाउन थालेँ,” उनले सुनाइन्, “सोलुखुम्बुको भाटीखर्कमा नमोबुद्ध स्कुल छ। यो अहिले सरकारले दरबन्दीमा शिक्षकहरू दिएर सञ्चालन भइरहेको छ।” 

त्यो मात्र होइन लिसाले फाउन्डेसनमार्फत खोटाङका तीन विद्यालयमा पनि सहयोग गरिरहेकी छन्। किताब, कापी, कलम, फर्निचर तथा पठनपाठनका अन्य सामग्री आफूले त्यहाँका विद्यार्थीलाई नियमित रूपमा १० वर्षदेखि उपलब्ध गराउँदै आएको उनले सुनाइन्। 

०००  

भूकम्पले घर गुमेपछि पालमा आइपुगेकी काभ्रेकी बालिका विनिता तामाङका लागि उनले जमिन र घरको व्यवस्था गरिदिइन्। काठमाडौँको चुच्चेपाटीमा रहेको गोल्डेन पिक हाइस्कुलमा लिसाले अपनत्व लिएका सात बालबालिका आवासीय सुविधामा पढिरहेका छन्। उनीहरूको पठनपाठनको सबै जोहो फाउन्डेसनले गरिदिने गरेको छ।

लिसालाई आमा भनेर पुकार्ने सङ्गीता परियार नर्सिङ पास गरेर यतिबेला दुबईमा छिन्। त्यो मात्र होइन लिसाका नेपाली छोराछोरी इन्जिनियर, डाक्टर पढिरहेका छन्। उनले अपनत्व ग्रहण गरेका अर्का बालक हुन छिरिङ शेर्पा। जसलाई उनले १२/१३ वर्षको हुँदा अभिभावकत्व दिएकी थिइन्। उनका बुवा कर्मा शेर्पा बौद्ध भिक्षु हुन् । आमाले सानैमा छोडेर गएपछि पारिवारिक समस्यामा परेका छिरिङको सम्पूर्ण पढाइको भार ‘बेलाइती आमा’ लिसाले उठाइन्। अहिले उनी काठमाडौँ मेडिकल कलेजमा डाक्टरी पढिरहेका छन्। उनको भर्नादेखि पढाइ खर्च लिसाले नै बेहोर्दै आएकी छन्। 

छिरिङजस्तै तेन्जिङ ज्याङ्बो आर्किटेक्ट पढिरहेका छन्। सोलुखुम्बुकी कमुनी शेर्पा कक्षा नौमा पढ्छिन्। 

“उनी त निकै स्मार्ट छिन्। उनलाई देखेर निकै खुसी लाग्छ,” लिसा हँसिलो अनुहार बनाउँदै भन्छिन्, “सिर्जना दोङ पनि मेरै छोरी हुन्। उनी यतिबेला गोल्डेन पिकबाट एसएलसी गरेर नेसनल मल्टिपल कलेजमा ल्याब अध्ययन गरिरहेकी छन्।” 

विद्यालयमै सहयोग गरेर पढाइरहेका बाहेक नेपालमा लिसाका ६ देखि २४ वर्ष उमेरका २८ जना छोराछोरी छन्।

आमा भनिँदा अगाध खुसी

समुद्रपारिकी एक नारी। एक आमा। यति टाढाको देशमा छोराछोरी पढाएर उनले के पाइन् ? 

“नेपाल मेरो रहरको देश थियो। म नेपाल घुम्नका लागि आतुर थिएँ,” लिसाले भनिन्, “भाग्यले जब म नेपाल आएँ निकै खुसी थिएँ। तर पहिलो पटक फर्किएर जाँदा मन निकै भारी भयो।”

त्यही भारी मन हलुको पार्न होस् वा सन्तानप्रतिको माया पूर्ति गर्न होस् उनले नेपालमा बालबालिकालाई पढाउने प्रण गरिन्।

“जब म नेपाल आउँछु, मलाई धेरैले आमा नै भन्छन्। त्यतिबेलाजस्तो गहिरो आनन्दाभूति संसारको अर्को कुनै खुसीले दिँदैन,” लीसाले प्रफुल्लित भएर सुनाइन्। 

उनले पढाइरहेका मध्ये कसैले आफ्ना आमा, कसैले आफ्नो बुवा हुँदाहुँदै पनि जब उनलाई आमा भन्छन् त्यतिबेला लिसालाई निकै खुसी लाग्छ। संसारको कुनै सम्पत्तिले किनेर नपाइने आनन्द पाएझैँ हुन्छ। उनीहरू सफल हुँदा आफूले ठूलै कुरा पाएको महसुस हुन्छ लिसालाई। उनीहरूको अभिभावक म नै हुँ भन्ने कर्तव्यबोध गराउँछ। 

करिब ४० को उमेरमा नेपाल टेकी लिसा यतिबेला ५७ वर्षको हाराहारी पुगिसकिन् तर उनी हरेक वर्ष नेपाल आउने जाने गर्छिन्। 

“कोभिडको समयमा आउन सकिन्,” उनले भनिन्, “तर पनि मेरो अभिभावकत्व, मेरो जिम्मेवारी मैले विभिन्न साथीभाइसँग सहयोग मागेर पनि पूरा गरेँ।”

रुचि अनेक

लिसा ह्वाइटहाउस फोस्केटले नेपालको सुन्दरता, यहाँको प्राकृतिक र सांस्कृतिक रहस्य, हिमाल, हिन्दुत्व, बौद्धबारे सुनेकी थिइन्।

“त्यसैले होला नेपाललाई मैले मेरो गन्तव्य बनाएको,” सङ्गीत र नृत्यमा पनि रुचि भएकी लिसाले भनिन्, “घुम्न मलाई निकै मन पर्छ, मेरो प्यासन हो।”

उसो त उनले अन्य देश धेरै घुमिन्। धेरै भ्रमण गरिन् तर उनले नेपालमा नै किन सहयोगको हात अघि बढाइन् त ?

“त्यहाँ राज्य छ, ‘सिस्टम’ छ। बालबालिकाको शिक्षा, वृद्धवृद्धाको स्वास्थ्य राज्यले हेर्छ, सरकारको ‘सिस्टम’ले असहज अवस्था आउन दिँदैन। तर यहाँ ‘हेल्पलेस’ देखेँ। अनि सहयोग गर्दै जाँदा तमामौँ छोराछोरी बनाएँ।”

लिसाका श्रीमान् पिटर पेसाले लन्डनमा नाम चलेका वकिल हुन्। उनी वकालत गर्छन् तर लिसाको यो अभियानमा उनको पनि समर्थन मात्र होइन साथ छ।  उनका साथीभाइ, आफन्तले सहयोग जुटाउने क्रममा नेपालबारे सोध्छन्। “म सबै सुन्दरताको कुरा गर्छु। यहाँको संस्कृति र समाजको कुरा गर्छु,” उनले भनिन्। 

लिसालाई साँच्चैमा नेपालको चाडवाड मनाउने संस्कार निकै मन पर्छ। दसैँतिहारमा नेपाली एक ठाउँमा भेला हुने, आत्मीय साटासाट गर्ने कुरा दुनियाँमा कमै हुने गरेको उनले सुनाइन्। 

कोभिडले पीडा

कोभिडको बेला भने लिसा निकै चिन्तित भइन्। विश्व नै जरजर भएको बेला उनले पनि धेरै पाइला खुम्च्याएर बस्नुप-यो। उनले भनिन्, “कोभिडले हामीलाई पनि निकै गाह्रो बनायो, कैयौँ रात म सुतिनँ। नेपालका छोराछोरीलाई कसरी सहयोग निरन्तर राख्ने भन्ने चिन्ताले निकै पिरोलेको थियो तर सबै ठिकठाक भइदियो ।” 

तर अहिले पनि लिसालाई कहिलेकाहीँ निद्रा लाग्दैन, उनीहरूको भविष्य सम्झेर। उनी भन्छिन्, “म पनि त आमा हुँ। मैले उनीहरूको भविष्यका बारेमा चिन्ता लिनैपर्छ।”

उनी हेल्थ वर्किङ ग्रुपकी अध्यक्ष पनि हुन्। निकै व्यस्त रहन्छिन्। तर पनि नेपालका बच्चामा देखिने खुसीले आफूलाई ऊर्जा दिने गरेको उनी सुनाउँछिन्।

युवा बदलिन जरुरी

नेपालमा लिसाले कतै नरुचाएको कुरा हो घुस। यहाँ घुस र भ्रष्टाचार मौलाएको प्रति उनी चिन्तित छिन्। यसरी कहिल्यै मुलुक बन्दैन, यो प्रगतिको शत्रु हो भन्ने उनको बुझाइ छ। 

“हामी कहिल्यै कुनै कामका लागि पनि घुस दिँदैनौँ। बरु कुनै काम नभए नहोस्,” उनले भनिन्, “तर नेपालको अवस्था १७, १८ वर्षअघि म आउँदा जस्तो थियो आज पनि त्यस्तै छ। मैले स्कुलको अनुमति लिन खोज्दा पनि घुस मागियो। मैले दिँदै दिइनँ। पछि एक जना असल मानिसले त्यो काम गराए ।” 

नेपालीले परिवर्तन चाहिरहे पनि त्यसको ठूलो बाधक घुस बनिरहेको उनको बुझाइ छ। नागरिक नै घुस दिन तयार भएसम्म यो अवस्था सुधारिने आशा गर्न नसकिने उनी बताउँछिन्।

आम नेपालीजस्तै उनलाई पनि युवा उमेरको मानिस राजनीतिमा आएपछि परिवर्तन हुन्छ भन्ने लागेको थियो तर नेपाली राजनीतिमा युवालाई नै परिवर्तन गराइदिने वा टिक्नै नदिने परिपाटी डरलाग्दो भएको उनले महसुस गरेकी छन् । 

उनी आग्रह गर्छिन्, “यहाँका युवाले यहाँको ‘सिस्टम’सँग ठूलो सङ्घर्ष गर्नु जरुरी छ।”